मेलुङ गाउँपालिकाका महिलाहरू पालिकाबाट प्राप्त सहयोग, सीप र प्रविधिको उपयोग गर्दै क्रमशः आत्मनिर्भर बन्दै गएको बताएका छन् । सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले सञ्चालन गर्दै आएको “स्थलगत बहस” कार्यक्रममा सहभागी स्थानीयहरूले पालिकाको योजनामुखी पहलले आयआर्जनमा उल्लेखनीय सुधार आएको अनुभव सुनाएका हुन् ।

सेतीदेवी महिला समूहकी सचिव तथा कृषि उद्यमी सम्झना खड्काका अनुसार पालिकाबाट प्राविधिक सहयोग र आवश्यक सामग्री पाएपछि अकबरे खुर्सानी खेती विस्तार गर्न सहज भएको छ । उनले २ हजार ६ सय बोट खुर्सानीबाट ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताइन् । त्यस्तै, गाईखुरा महिला उद्यमी कृषि सहकारी संस्थाकी अध्यक्ष शोभा बस्नेतले ५० प्रतिशतसम्मको अनुदानले सामूहिक दुग्ध व्यवसायमा महिलाहरूलाई आकर्षित गरेको बताइन् । पालिकाले उपलब्ध गराएका ३४ वटा उन्नत जातका गाईबाट हाल दैनिक करिब ५०० लिटर दूध उत्पादन भई बजारसम्म पुगेको उनले जानकारी दिइन् ।

महिला उद्यमी बृहस्पति गोले २० रोपनी क्षेत्रफलमा मुला खेती गर्दै आएकी छन् । उनले पनि पालिकाको अनुदान र प्रोत्साहनकै कारण व्यावसायिक कृषि तर्फ लाग्न सकेको अनुभव सुनाइन्। कुखुरापालक संगीता भण्डारीले दैनिक तीन क्रेटसम्म अण्डा बिक्री गर्दै आएको बताउँदै यसले घरखर्च व्यवस्थापन र बालबालिकाको पालनपोषणमा ठूलो टेवा पुगेको उल्लेख गरिन्। महिलाहरूले सामूहिक श्रमदानमार्फत नमुना ट्यांकी निर्माण गरेको उदाहरण पनि प्रस्तुत गरिएको थियो । पत्रकार शिव भुजेलका अनुसार मेलुङ गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा विभिन्न दातृ निकायसँग सहकार्य गर्दै स्थानीयको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ। उनले कृषि उत्पादनको दीर्घकालीन भण्डारणका लागि कोल्ड स्टोर निर्माण आवश्यक रहेको सुझाव पनि दिए ।
कार्यक्रममा भेड्प क्षेत्रका बासिन्दाले लालपुर्जा अभावको समस्या पनि उठाएका छन् । वडा नम्बर ४ का नवीन गोलेका अनुसार नापी कार्य नहुँदा करिब २५ सय घरधुरी अझै लालपुर्जाविहीन छन्, जसका कारण स्वास्थ्य चौकी र प्रहरी चौकी निर्माणमा समेत अवरोध सिर्जना भइरहेको छ । शिक्षा क्षेत्रतर्फ, सामुदायिक विद्यालयका शिक्षकहरूले नतिजामा आधारित प्रोत्साहन नीति लागू गरिएको जानकारी दिएका छन्। वडा अध्यक्षहरू कुसुम लामा, रामकृष्ण भण्डारी र ललित थापामगरले पालिकाले आत्मनिर्भरता र स्वरोजगारलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।
बहसमा उठेका विषयमा प्रतिक्रिया दिँदै गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले मेलुङमा सुन्तला खेतीबाट मात्रै वार्षिक १३ करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको जानकारी दिइन् । कृषि र पशुपालनमा महिलाहरूको बढ्दो सक्रियताले स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याएको उनको भनाइ थियो । गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङले आगामी वर्षभित्र कोल्ड स्टोर सञ्चालन, कृषि उत्पादनको ब्रान्डिङ तथा पशुखाद्य उद्योग स्थापना गर्ने योजना अघि सारिएको बताए। साथै, यसै वर्ष ७ किलोमिटर सडक कालोपत्रे गरिने र बागमती प्रदेश सरकारको ३६ करोड रुपैयाँको बहुवर्षीय योजनाअन्तर्गत मुडे–मेलुङ–शीतली सडक निर्माण भइरहेको जानकारी दिए । एसियाली विकास बैंकको सहयोगमा सिम्टे सडक खण्ड स्तरोन्नति हुने योजना पनि अघि बढाइएको उनले उल्लेख गरे ।
“स्थलगत बहस” कार्यक्रम रेडियो नेपालले देशका विभिन्न स्थानमा पुगेर स्थानीय मुद्दा उजागर गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम हरेक शनिबार बिहान १०ः१० बजे प्रसारण हुने र बिहीबार राति ९ः१५ बजे पुनः प्रसारण हुने गर्दछ । बहस दोलखाको भीमेश्वर नगरपालिका र मेलुङ गाउँपालिकामा रेडियो नेपालका कार्यक्रम प्रस्तोता मनुका कुँवर र रिता तिमिल्सिनाले सहजीकरण गरेका थिए ।