दोलखाको मेलुङ गाउँपालिकाको १९औँ गाउँसभा तथा ७२औँ गाउँ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ५४ करोड ५४ लाख ८० हजार ३७५ रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष गायत्री आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
पारित बजेटअनुसार शिक्षा क्षेत्रका लागि १८ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रका लागि ४ करोड ४६ लाख ४ हजार रुपैयाँ छुट्याइएको छ भने बालबालिका तथा लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालनका लागि १५ लाख ७२ हजार रुपैयाँ व्यवस्था गरिएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार विकासतर्फ १८ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि १ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, कृषि उत्पादन वृद्धि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ । गाउँसभाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै सर्वसम्मत रूपमा पारित गरेको हो ।
यस बजेटले मेलुङ गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा स्थानीय आर्थिक गतिविधिलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।