जिल्लामा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मेलुङ उपशाखाको आयोजनामा शुक्रबार मेलुङ स्वास्थ्य चौकी भवनमा खुला रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २३ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् । वर्षाका बाबजुद पनि टाढाटाढाबाट आएर स्थानीयले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका मन्त्री भरत प्रधानले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँगाउँमा रक्तदान कार्यक्रम सञ्चालन गरी रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा विभिन्न आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धताका लागि नियमित रक्तदान महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
स्वस्थ र निरोगी व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा अरूको जीवन बचाउन प्रत्यक्ष योगदान पुग्ने गर्दछ । विशेषगरी आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न स्वयंसेवी रक्तदाताको भूमिका महत्वपूर्ण मानिन्छ । रक्तदानले सामाजिक सेवाको भावना विकास गर्नुका साथै समुदायमा आपसी सहयोग र मानवीय एकताको सन्देशसमेत प्रवाह गर्ने गर्दछ ।
रक्तदान गर्न इच्छुक स्वस्थ वयस्क व्यक्तिले चिकित्सकीय मापदण्ड पूरा गरेमा नियमित रूपमा रक्तदान गर्न सक्ने भएकाले रक्तदानलाई नियमित सामाजिक सेवाका रूपमा विकास गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
रक्तदान कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङ, वडा अध्यक्ष नवराज खड्का र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका मन्त्री भरत प्रधान लगायतको उपस्थिति रहेको थियो ।