उत्तरदायी, पारदर्शी र परिणाममुखी स्थानीय शासन निर्माण गर्ने उद्देश्यले मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाले वर्षभरि सञ्चालन गरेका विकास निर्माण, सार्वजनिक सेवा प्रवाह, सुशासन तथा सामाजिक र आर्थिक विकासका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तयारी गरेको हो ।

वार्षिक समीक्षामा गाउँपालिकाअन्तर्गतका सबै विषयगत शाखा तथा सातवटै वडा कार्यालयले आर्थिक वर्षभरि सम्पादन गरेका काम, उपलब्धि, चुनौती र सुधार गर्नुपर्ने विषयमा प्रगति विवरण प्रस्तुत गर्नेछन् । यसबाट कुन क्षेत्रमा अपेक्षित उपलब्धि हासिल भयो, कहाँ समस्या देखियो र आगामी आर्थिक वर्षमा के सुधार गर्न आवश्यक छ भन्ने विषय पहिचान गर्न सहज हुने गाउँपालिकाले जनाएको छ ।
मेलुङ गाउँपालिकाका वडा अध्यक्ष तथा प्रवक्ता नवराज खड्काले वार्षिक समीक्षा कार्यक्रमले गाउँपालिकाको समग्र कार्यसम्पादनको मूल्याङ्कनसँगै आगामी दिनमा नागरिकलाई अझ सहज र छिटो सेवा उपलब्ध गराउने आधार तयार गर्ने बताउनुभयो । “वर्षभरि भएका कामको समीक्षा गरेर कमजोरी पहिचान गर्ने र आगामी दिनमा त्यसलाई सुधार गर्दै लैजाने उद्देश्य हो,” उहाँले भन्नुभयो, “नागरिकले सेवा लिनका लागि अनावश्यक झन्झट व्यहोर्नु नपरोस्, आवश्यक सूचना र सेवा गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयबाट सहज रूपमा प्राप्त गर्न सकून् भन्ने कुरालाई प्राथमिकतामा राखिनेछ ।”

समीक्षाबाट सेवा प्रवाहमा देखिएका ढिलासुस्ती, प्रक्रियागत जटिलता तथा नागरिकका गुनासो पहिचान गरी सुधारका लागि आवश्यक योजना बनाउनसमेत सहयोग पुग्ने गाउँपालिकाको अपेक्षा छ । त्यसैगरी कुन सेवा कहाँबाट, कसरी र कति समयमा प्राप्त गर्न सकिन्छ भन्ने विषयमा नागरिकलाई स्पष्ट जानकारी उपलब्ध गराउनेतर्फ पनि गाउँपालिकाले ध्यान दिने जनाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा योजनाको प्रभावकारी कार्यान्वयन, स्रोतको उचित परिचालन, पारदर्शिता र उत्कृष्ट कार्यसम्पादनलाई प्राथमिकता दिने जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य, सातवटै वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाई, विषयगत शाखाका प्रमुख, वडा सचिव तथा कर्मचारीहरूको उपस्थिति रहेको छ । समीक्षापछि प्राप्त सुझाव, अनुभव र सिकाइलाई आगामी आर्थिक वर्ष २०८३/०८४ का योजना तथा कार्यक्रम कार्यान्वयनमा उपयोग गर्ने गाउँपालिकाले जनाएको छ । यसले विकास निर्माणसँगै नागरिकले दैनिक रूपमा लिने प्रशासनिक तथा सार्वजनिक सेवामा समेत सहजता आउने अपेक्षा गरिएको छ ।