बागमती प्रदेश सरकारले आज तेस्रो भाषा दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले कामकाजी भाषाको रूपमा नेपाल भाषा (नेवारी) र तामाङ भाषालाई कार्यान्वयनमा ल्याएको सम्झनामा हरेक वर्ष बैशाख २४ गते भाषा दिवस मनाउँदै आएको हो ।
बागमती प्रदेश सरकारको निर्णयअनुसार २०८१ सालदेखि नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सुरु गरिएको थियो । त्यसयता भाषा दिवसलाई प्रदेशस्तरीय विशेष दिवसका रूपमा मनाइँदै आएको छ । भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक विदासमेत दिने गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारका अनुसार सरकारी कार्यालय, स्थानीय तह, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा क्रमशः मातृभाषाको प्रयोग बढाउने नीति लिइएको छ । भाषा दिवसले बहुभाषिक समाजमा आपसी सम्मान, सहअस्तित्व र सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
बागमती प्रदेश नेपाल भाषा र तामाङ भाषी समुदायको बाक्लो बसोबास रहेको प्रदेश मानिन्छ । विशेषगरी काठमाडौं उपत्यका, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुली लगायत जिल्लामा यी भाषाहरू व्यापक रूपमा बोलिन्छन् ।
भाषाविद्हरूले मातृभाषाको संरक्षण केवल भाषासँग मात्र नभई समुदायको इतिहास, सभ्यता, संस्कार र पहिचानसँग पनि जोडिएको बताएका छन् । पछिल्लो समय नयाँ पुस्तामा मातृभाषा बोल्ने चलन घट्दै गएको भन्दै भाषा दिवसले भाषाप्रति जागरण फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस अवसरमा बागमती प्रदेशका विभिन्न जिल्लामा सांस्कृतिक कार्यक्रम, भाषा सम्बन्धी अन्तरक्रिया, झाँकी प्रदर्शन, कविता वाचन, गीत–संगीत तथा मातृभाषा संरक्षणसम्बन्धी कार्यक्रमहरू आयोजना गरिएको छ । विद्यालय तथा समुदायस्तरमा पनि मातृभाषाको महत्वबारे सचेतना फैलाउने कार्यक्रम भइरहेका छन् ।
तामाङ समुदायले भाषा दिवसलाई आफ्नो पहिचान र अस्तित्वसँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । त्यस्तै नेपाल भाषा अभियन्ताहरूले पनि सरकारी कामकाजमा मातृभाषाको प्रयोग सुरु हुनु ऐतिहासिक कदम भएको बताएका छन् ।
नेपालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ भने प्रदेश सरकारलाई प्रदेशभित्र बहुसंख्यकले बोल्ने भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्न सक्ने अधिकार प्रदान गरेको छ । सोही संवैधानिक व्यवस्थाअनुसार बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको मान्यता दिएको हो ।