दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङस्थित देउराली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । निता राउत फाउण्डेशनले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी तथा पेन्सिल सहयोग गरेको हो ।

फाउण्डेशनमार्फत विद्यालयका १ सय २ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको पत्रकार गोकर्ण भण्डारीले जानकारी दिनुभयो । आर्थिक तथा शैक्षिक रूपमा पछाडि परेको समुदायका बालबालिकालाई पढाइप्रति थप उत्साहित बनाउन र विद्यालयमा नियमित उपस्थितिमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

देउराली प्राथमिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी थामी समुदायका रहेका छन् । विद्यालयका अनुसार १ जना खड्का समुदायका विद्यार्थी बाहेक अन्य सबै थामी समुदायका बालबालिका अध्ययनरत छन् । स्थानीयस्तरमा आर्थिक अवस्था कमजोर भएका कारण धेरै अभिभावकले बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भोग्दै आएका छन् । यस्तो अवस्थामा प्राप्त सहयोगले विद्यार्थीको पढाइमा सकारात्मक प्रभाव पर्ने विद्यालयको विश्वास छ ।
विद्यालयका प्रधानाध्यापक रुपमाला पोत्रेलले शैक्षिक सामग्रीले बालबालिकामा पढाइप्रति रुचि बढाउने र विद्यालय आउने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँका अनुसार सामग्री अभावका कारण कतिपय विद्यार्थी नियमित रूपमा कापी–कलम प्रयोग गर्न नसक्ने अवस्थामा थिए । “सानो सहयोगले पनि बालबालिकामा ठूलो उत्साह थप्छ,” उहाँले भन्नुभयो, “यस्ता सहयोगले विद्यालय र विद्यार्थी दुवैलाई ऊर्जा मिल्छ ।”
२०५६ सालमा स्थापना भएको देउराली प्राथमिक विद्यालय रहेको क्षेत्रमा थामी समुदायका मात्रै ३ सयभन्दा बढी घरधुरी रहेका छन् । समुदायको बाक्लो बस्ती भएकाले विद्यालयमा पनि सोही समुदायका बालबालिकाको संख्या धेरै रहेको छ । विद्यालयमा कक्षा ५ सम्म अध्ययनको व्यवस्था रहेको छ भने माथिल्लो कक्षाका लागि विद्यार्थीहरु नजिकै रहेको लापिलाङ माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् । उक्त विद्यालयमा पनि ८० प्रतिशतभन्दा बढी विद्यार्थी थामी समुदायका रहेका छन् ।
निता राउत फाउण्डेशनले दोलखा सहित विभिन्न जिल्लामा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा तथा आर्थिक सहयोग गर्दै आएको छ । यस्ता सहयोगले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षामा टिकाइ राख्न महत्वपूर्ण भूमिका खेल्ने स्थानीयवासीको भनाइ छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा थामीको अध्यक्षतामा तथा पत्रकार चिरञ्जीवी मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।