कालिञ्चोक गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशन तथा प्रथम बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभाको अधिवेशन औपचारिक रूपमा सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय पूर्वाधार विकास, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ । गाउँसभामा उपाध्यक्ष कुलबहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटी, वडाध्यक्षहरू, वडा सदस्यहरू, गाउँ कार्यपालिका सदस्यहरू, विषयगत शाखाका प्रमुख, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अधिवेशनमा आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३ को सिद्धान्त तथा प्राथमिकता, न्यायिक समितिको आर्थिक वर्ष २०८२÷०८३ सम्बन्धी प्रतिवेदन, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२, आर्थिक वर्ष २०८१÷०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदनमाथि छलफल गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८२÷०८३ को आय–व्यय विवरण प्रस्तुत गरिएको छ भने २०७४ सालदेखि कृषि तथा पशुपन्छी क्षेत्रमा वितरण गरिएका अनुदानहरूको छानबिनसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता तथा आर्थिक पारदर्शितालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाउने जनाएको छ ।