वैतेश्वर गाउँपालिका–८ क्षत्रपामा आयोजित निःशुल्क आँखा शिविरबाट डेढ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, लायन्स क्लब अफ दोलखा, दोलखा लायन्स आँखा केन्द्र तथा वैतेश्वर गाउँपालिका–८ स्थित क्षेत्रपा स्वास्थ्य चौकीको संयुक्त आयोजनामा सञ्चालन गरिएको शिविरमा १५५ जनाले आँखा परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका हुन् ।

वडा अध्यक्ष शान्त जिरेलका अनुसार शिविरमा ९४ महिला र ६१ पुरुष गरी कुल १५५ जनाले सेवा लिएका छन् । परीक्षणका क्रममा ९ जनामा मोतिविन्दुको समस्या देखिएको छ भने २ जनाको आँखामा मासु पलाएको (प्टेरिजियम) भेटिएकाले शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । उनीहरूलाई थप उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गरिने जनाइएको छ ।
ग्रामीण भेगका धेरै नागरिक आर्थिक अवस्था, समय अभाव तथा स्वास्थ्य संस्थासम्मको पहुँच कठिन हुँदा नियमित आँखा परीक्षणबाट वञ्चित हुने गरेका छन् । यस्ता अवस्थामा गाउँमै विशेषज्ञ सेवा उपलब्ध हुँदा स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य लाभ लिन पाएका छन् । विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा दैनिक मजदुरी गर्ने नागरिकहरू शिविरबाट बढी लाभान्वित भएको वडाअध्यक्ष जिरेलले जानकारी दिएका छन् ।

शिविरमा आँखा जाँच, रोग पहिचान, उपचारसम्बन्धी परामर्श तथा आवश्यक सिफारिस सेवा प्रदान गरिएको थियो । आँखा सम्बन्धी समस्या समयमै पहिचान हुँदा अन्धोपनको जोखिम न्यूनीकरण गर्न र जीवनस्तर सुधार गर्न सहयोग पुग्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
वडा कार्यालयले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न समेत महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीको भनाइ छ ।
स्थानीयले शिविरलाई अत्यन्त उपयोगी र प्रभावकारी भएको बताएका छन् । स्वास्थ्य सेवा लिन सदरमुकाम वा काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता कम हुनुका साथै खर्च र समयको बचत भएको उनीहरूको अनुभव छ । यस्ता शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिन सके ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था सुधार गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।