‘हामी बनाउँछौँ, हाम्रो विद्यालय’ भन्ने नाराका साथ गौरीशंकर गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले ‘अभिभावकसँग शिक्षा’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाअन्तर्गतका माध्यमिक विद्यालयमा अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिबीच प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गर्ने गरी कार्यक्रम अघि बढाइएको हो ।

कार्यक्रमको सुरुवात गौरीशंकर गाउँपालिका–२ जुँगुस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयबाट गरिएको छ । गाउँपालिकाले पालिकाभित्र रहेका ६ वटा माध्यमिक विद्यालयमा क्रमशः अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । गाउँपालिकाले जारी गरेको कार्यतालिकाअनुसार निलकण्ठेश्वर मावि जुँगु, मानेडाँडा मावि झ्याँकु, हलेश्वर मावि सुरी, भूमेगुम्बा मावि चंखु, हिमवर्ती मावि मार्बु र खारे मावि खारेमा कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको सहभागिता रहने व्यवस्था गरिएको गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो । निलकण्ठेश्वर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वास कार्की, उपाध्यक्ष उमा लुङगेली मगर शेर्पा, सम्बन्धित वडाका अध्यक्षलगायत जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकको सहभागिता रहेको थियो ।
गुणस्तरीय शिक्षा केवल विद्यालय र शिक्षकको प्रयासबाट मात्र सम्भव नहुने भएकाले अभिभावकको सक्रिय भूमिका आवश्यक हुने गाउँपालिकाको बुझाइ छ । विद्यार्थी नियमित विद्यालय जाने अवस्था सुनिश्चित गर्ने, घरमा पढाइका लागि उपयुक्त वातावरण बनाउने, बालबालिकाको सिकाइ तथा व्यवहारमा चासो राख्ने र विद्यालयसँग निरन्तर समन्वय गर्ने जिम्मेवारीमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।
त्यस्तै, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न शिक्षकले प्रभावकारी शिक्षण विधि अपनाउनुका साथै विद्यार्थीको आवश्यकता र क्षमताअनुसार सहजीकरण गर्नुपर्ने हुन्छ । विद्यालयमा देखिएका समस्या पहिचान गरी समाधानका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच निरन्तर संवाद आवश्यक देखिन्छ । शैक्षिक सुधारका लागि स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुधार, आवश्यक स्रोतसाधनको व्यवस्थापन, शिक्षक तथा विद्यालयलाई आवश्यक सहजीकरण र शैक्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकारको जिम्मेवारी रहन्छ ।
यसैलाई ध्यानमा राख्दै गौरीशंकर गाउँपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण सुधार गर्न अभिभावकलाई विद्यालयको शैक्षिक गतिविधिसँग जोड्ने अभियान अघि बढाएको हो । अभिभावक, शिक्षक र स्थानीय सरकारबीच सहकार्य र साझा जिम्मेवारीको भावना विकास गर्न सके मात्र विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रमले विद्यालयका समस्या र शैक्षिक सुधारका सम्भावनाबारे अभिभावक तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने वातावरण तयार गर्ने विश्वास लिइएको छ । ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय’ भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय सुधारमा समुदायको सहभागिता बढाउने अभियानका रूपमा कार्यक्रमलाई अघि बढाइएको छ ।