गौरीशंकर गाउँपालिका–८ खारे स्वास्थ्य चौकीमा कार्यरत अनमी सुविना रिमाललाई आर्थिक वर्ष २०८२/८३ को ‘स्वास्थ्य नायक’ घोषणा गरिएको छ । मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन, खोप, गाउँघर क्लिनिकलगायत स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उल्लेखनीय योगदान पु¥याएको भन्दै रिमाललाई स्वास्थ्य नायक घोषणा गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख बसन्तराज रेग्मीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा गरेको कार्यसम्पादनका आधारमा रिमाललाई स्वास्थ्य नायक छनोट गरिएको हो । विशेषगरी विकट क्षेत्रमा रहेर नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन उनले निर्वाह गरेको भूमिकालाई मूल्यांकन गरिएको उहाँले बताउनुभयो ।
गौरीशंकर गाउँपालिकाको विकट मानिने खारेमा रहेको स्वास्थ्य चौकीमा कार्यरत रिमालले नियमित स्वास्थ्य सेवासँगै मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजन, खोप सेवा र गाउँघर क्लिनिकजस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । स्वास्थ्य संस्था र सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँको सक्रियता महत्वपूर्ण रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
नागरिकको स्वास्थ्य सेवामा बाधक नबनोस् भन्ने उद्देश्यले रिमालले स्वास्थ्य चौकीको नियमित सेवाका साथै समुदायस्तरमै पुगेर सेवा प्रवाहमा जोड दिँदै आउनुभएको छ । स्वास्थ्यकर्मीका रूपमा आफ्नो जिम्मेवारीलाई केवल स्वास्थ्य चौकीमा सीमित नराखी नागरिकको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने गरेको स्थानीयको भनाइ छ ।
गौरीशंकर गाउँपालिका–८ खारेका वडाध्यक्ष दावा शेर्पाका अनुसार रिमाल नागरिकलाई स्वास्थ्य सेवा दिन दिनरात खटिने कर्मचारी हुनुहुन्छ । विकट भूगोलमा रहेर पनि नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँले देखाएको प्रतिबद्धता र सक्रियता प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
“खारे स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको उपस्थिति मात्र पर्याप्त हुँदैन, नागरिकले सहज रूपमा सेवा पाउने वातावरण पनि आवश्यक हुन्छ । सुविना रिमालले यही भावनाका साथ काम गर्दै आउनुभएको छ । नागरिकको स्वास्थ्यप्रति उहाँको जिम्मेवारीबोध र सेवाभावकै कारण स्वास्थ्य नायकका रूपमा छनोट हुनु स्वाभाविक हो,” वडाध्यक्ष शेर्पाले भन्नुभयो ।
गाउँमा स्वास्थ्यकर्मीको एउटा सक्रिय कदमले नागरिकको स्वास्थ्य सेवामा ठूलो फरक पार्न सक्छ । यही भूमिकालाई आत्मसात् गर्दै सेवा प्रवाहमा देखाएको सक्रियता र योगदानका लागि रिमाललाई ‘स्वास्थ्य नायक’ घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।