दोलखाको गौरीशंकर गाउँपालिकाले देश तथा विदेशका विभिन्न स्थानमा बाढी, पहिरो तथा हिमपहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले प्रतिपरिवार १ लाख ५० हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको भदौ २५ गते बसेको बैठकले गौरीशंकर गाउँपालिका घर भई विभिन्न स्थानमा विपद्मा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सम्बन्धित परिवारलाई आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
गाउँपालिकाको पत्रअनुसार ताके तामाङ र मनबहादुर तामाङ भदौ १० गते रसुवामा आएको बाढीमा परी हालसम्म बेपत्ता छन् । त्यस्तै किली पेम्बा शेर्पा पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी निधन भएको जनाइएको छ ।
यसैगरी पदम तामाङ यलुङ बेसक्याम्प हिमपहिरोमा परी बेपत्ता भएपछि पार्थिव शरीर भेटिएको तथा चच्मान तामाङ गौरीशंकर–९, टासिनाममा आएको पहिरोमा परी बेपत्ता भएपछि पार्थिव शरीर प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो । त्यस्तै गौरीशंकर गाउँपालिका–२ का गोपी नेपाली (मिलन), कमल खड्का (नानु), तिलक नेपाली (सागर), केदार कार्की रहेका छन् भने वडा नं. ८ का आङछिरिङ शेर्पा र वडा नं. ५ का कृष्ण खत्री भदौ १० गते रसुवा बाढीमा परि हालसम्म बेपत्ता परेका छन् ।
राहत रकम प्राप्त गर्न मृतकको मृत्यु दर्ता, रकम पाउने परिवारका सदस्यसँगको नाता प्रमाणित, बैंक खाताको विवरण वा चेकको प्रतिलिपि तथा सम्बन्धित वडाको सिफारिस आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ । बेपत्ता भएका व्यक्तिका हकमा नेपाल सरकार वा सम्बन्धित उद्धार गर्ने सुरक्षाकर्मीको तर्फबाट बेपत्ता रहेको भनी निकालिएको सूचना तथा सम्भव भए कार्यरत संस्था वा जलविद्युत् आयोजनाको सिफारिससमेत आवश्यक पर्ने जनाइएको छ ।

