जिरी नगरपालिका–५ स्थित सरस्वती सामुदायिक माध्यमिक विद्यालयका बालबालिकाले बाढीपीडितका लागि १२ हजार ६ सय ७० रुपैयाँ सहयोग संकलन गरेका छन् । कक्षा १० मा अध्ययनरत बालबालिकाको पहलमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो ।

सानै उमेरदेखि अरूको दुःखमा साथ दिने र विपद्को समयमा सहयोग गर्ने भावना विकास गराउने उद्देश्यले विद्यार्थीले स्वस्फूर्त रूपमा रकम संकलन गरेका हुन् । विद्यार्थीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकिएको विद्यालयले जनाएको छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई नैतिक शिक्षामार्फत सहयोग र मानवीय सेवाको महत्वबारे जानकारी गराइएको र त्यसैबाट प्रभावित भएर विद्यार्थीले सहयोग अभियान सुरु गरेको सरस्वती सामुदायिक माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक फेसीमाया जिरेलले बताउनुभयो । उहाँका अनुसार तीन जना शिक्षकसहित २६५ भन्दा बढी विद्यार्थीबाट रकम संकलन गरिएको हो ।
“गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले पु¥याएको जनधनको क्षतिबारे विद्यार्थीलाई जानकारी गराएका थियौँ । विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भनेर सामान्य जानकारी गराएपछि विद्यार्थी आफैँ सहयोग संकलनमा जुटे,” सहायक प्रधानाध्यापक जिरेलले भन्नुभयो ।
विद्यालयले नर्सरी तहका बालबालिकाबाट भने रकम संकलन गरेको थिएन । अन्य कक्षाका विद्यार्थीलाई सहयोगका लागि जानकारी मात्र गराइएको थियो । रकम दिनैपर्ने बाध्यकारी व्यवस्था नगरे पनि विद्यार्थी आफैँले साथीभाइ तथा परिवारसँग सहयोग माग्दै रकम संकलन गरेका थिए । सानो उमेरमै अरूको पीडा बुझ्ने र सकेको सहयोग गर्ने संस्कार विकास हुनु महत्वपूर्ण रहेको विद्यालयको भनाइ छ । बालबालिकाले संकलन गरेको यो रकम आर्थिक सहयोग मात्र नभई विपदमा एकअर्काको साथ दिनुपर्छ भन्ने मानवीय भावनाको सानो तर अर्थपूर्ण उदाहरण बनेको छ ।
बालबालिकाले देखाएको यो पहलले सहयोग गर्न ठूलो उमेर, ठूलो रकम वा ठूलो हैसियत आवश्यक पर्दैन भन्ने सन्देशसमेत दिएको छ । आफ्नो खाजा खर्चबाट बचाएको सानो रकमदेखि साथीभाइसँग संकलन गरेको सहयोगसम्म, प्रत्येक योगदानले विपदमा परेका व्यक्तिका लागि आशा र भरोसा जगाउन सक्छ ।