जिरी नगरपालिका–५ लिंकन बजारमा सञ्चालित उजामा कफी सपले दैनिक बिक्री हुने एक कप अमेरिकानो कफी बराबरको रकम जिरीको पर्यटन तथा खेलकुद प्रवद्र्धनमा खर्च गर्ने घोषणा गरेको छ ।

कफी सपका सञ्चालक तथा पर्यटन अभियन्ता लिलाराम खड्काले भदौ १ गतेदेखि लागू हुने गरी दैनिक एक कप अमेरिकानो कफीको १५० रुपैयाँ पर्यटन र खेलकुदका क्षेत्रमा छुट्याउने घोषणा गर्नुभएको हो । कफी सपमा अमेरिकानो कफीको मूल्य १७५ रुपैयाँ रहे पनि ग्राहकलाई २५ रुपैयाँ छुट दिँदै आएको छ । तर अभियानअन्तर्गत भने सञ्चालकले प्रतिकप १५० रुपैयाँ छुट्याउने बताउनुभएको छ ।
यसअनुसार दैनिक १५० रुपैयाँका दरले मासिक ४ हजार ५ सय रुपैयाँ र वार्षिक ५४ हजार ७ सय ५० रुपैयाँ जिरीको पर्यटन तथा खेलकुद प्रवद्र्धनका लागि योगदान हुनेछ । रकम सानो देखिए पनि निरन्तर रूपमा जम्मा हुने यस्तो सहयोगले स्थानीय स्तरमा पर्यटनसम्बन्धी गतिविधि, खेलकुदका कार्यक्रम तथा प्रतिभा प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सञ्चालक खड्काले आफू जन्मेको भूमि र आफूले माया गरेको जिरीका लागि आफ्नो तर्फबाट केही योगदान गर्नुपर्छ भन्ने भावनाका साथ अभियान सुरु गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक एक कप कफीको रकमले जिरीको पर्यटन, खेलकुद तथा स्थानीय सम्भावनालाई अगाडि बढाउने यात्रामा सानो भए पनि निरन्तर योगदान गर्नेछ । “दैनिक एक कप कफीको पैसाबाट जिरीका लागि केही गरौँ भन्ने सोचका साथ अभियान सुरु गरेका हौँ । यो सानो तर निरन्तर प्रयासले सकारात्मक योगदान पु¥याउने विश्वास छ,” खड्काले भन्नुभयो ।
जिरी प्राकृतिक सौन्दर्य, संस्कृति र इतिहासका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि पछिल्लो समय यहाँको पर्यटन गतिविधि अपेक्षाअनुसार चलायमान हुन नसकेको स्थानीयको गुनासो छ । यस्तो अवस्थामा निजी क्षेत्रबाट सुरु भएको यो अभियानले पर्यटन प्रवद्र्धनमा नयाँ सोच र सहभागिताको वातावरण सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ ।
एक कप कफीको रकमलाई पर्यटन र खेलकुदसँग जोड्ने अभियानले स्थानीय व्यवसायीलाई पनि आफ्नो व्यवसायसँगै समुदायका लागि योगदान गर्न प्रेरित गर्न सक्छ । एउटै व्यवसायबाट सुरु भएको सानो सहयोग अन्य होटल, रेस्टुरेन्ट, व्यवसायी तथा संघसंस्थाले समेत अनुशरण गरेमा जिरीमा पर्यटन प्रवद्र्धनका लागि नियमित स्रोत सिर्जना हुन सक्ने सम्भावना छ ।
त्यस्तै, खेलकुदतर्फ स्थानीय खेलाडीको क्षमता विकास, प्रतियोगिता आयोजना, खेल सामग्री व्यवस्थापन तथा नयाँ प्रतिभाको पहिचानमा समेत यस्ता सहयोग उपयोगी बन्न सक्छन् । पर्यटन र खेलकुद एकअर्काका पूरक भएकाले खेलकुद गतिविधि बढ्दा पर्यटकको आगमन, स्थानीय व्यापार र होटल व्यवसायमा समेत सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ । जिरीको पर्यटनलाई पुनः चलायमान बनाउन सरकारी तथा गैरसरकारी निकायको मात्रै प्रयास पर्याप्त नहुने भन्दै खड्काले व्यक्ति, व्यवसायी, संघसंस्था र सबै सरोकारवालालाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गर्नुभएको छ । “दैनिक पिउने हरेक कप कफीमा जिरीप्रतिको हाम्रो माया र जिम्मेवारी पनि जोडिएको छ । सबैको साथ, माया र हौसला रहने हो भने असम्भवलाई सम्भव बनाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
जिरी देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यमध्ये एक भएकाले यहाँको पर्यटनलाई नयाँ ढंगबाट प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानीय पर्यटन अभियन्ताहरूको भनाइ छ । उजामा कफी सपको यो अभियानले ठूलो बजेटभन्दा पनि ‘आफ्नो ठाउँका लागि आफैँबाट केही सुरु गर्न सकिन्छ’ भन्ने सन्देश दिएको छ । एक कप कफीबाट सुरु भएको यो प्रयासले अन्य व्यवसायी र नागरिकलाई पनि जिरीको पर्यटन तथा खेलकुदमा हातेमालो गर्न प्रेरित गर्न सकेमा यसको प्रभाव रकमभन्दा धेरै फराकिलो हुन सक्ने अपेक्षा गरिएको छ ।