आकस्मिक अवस्थामा यातायात नपाएर नागरिकले दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले जिरीका युवा नवीन सुनुवारले असोज १५ गतेदेखि निःशुल्क आकस्मिक यातायात सेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । सडकको पहुँचबाट टाढा रहेका तथा तत्काल सवारीसाधन आवश्यक पर्ने नागरिकलाई फोनकै भरमा आफ्नै गाडी लिएर घरसम्म पुग्ने उहाँको योजना छ ।

सामाजिक सेवामा सक्रिय सुनुवार आफैं गाडी चलाएर जिरी नगरपालिकाका गाउँगाउँ पुग्दै आउनुभएको छ । विशेषगरी गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, घाइते तथा आकस्मिक अवस्थामा रहेका नागरिकलाई प्राथमिकतामा राखेर यातायात सेवा दिने उहाँले बताउनुभएको छ । “जहाँ समस्या, त्यहाँ नवीन” भन्ने भावनाका साथ सामाजिक काममा सक्रिय सुनुवारले यसअघि पनि विपन्न तथा समस्यामा परेका नागरिकलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आउनुभएको छ । स्वास्थ्य उपचारका लागि सहयोग आवश्यक भएका तथा खाद्यान्न अभावमा रहेका परिवारलाई सहयोग गर्नुका साथै समाजमा हुने विकृति र विसंगतिविरुद्ध पनि आवाज उठाउँदै आउनुभएको छ ।
आफ्नै गाडी लिएर गाउँगाउँ पुग्ने क्रममा नागरिकका समस्या नजिकबाट देखेपछि आकस्मिक यातायात सेवा सुरु गर्ने सोच आएको सुनुवारले बताउनुभयो । यातायातको अभावकै कारण बिरामी, गर्भवती, ज्येष्ठ नागरिक तथा घाइतेले समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था अन्त्य गर्न आफ्नो तर्फबाट सानो प्रयास गर्न खोजेको उहाँको भनाइ छ ।
“धन–सम्पत्ति मात्रै जीवनको सबै कुरा होइन । बाँचुन्जेल समाज र देशका लागि केही अर्थपूर्ण काम गरेर जानुपर्छ । मेरो समय र ऊर्जा जनताको सेवा र जिरीको विकासमा लगाउने मेरो प्रयास हो,” सुनुवारले भन्नुभयो । युवा उमेरमै सामाजिक काममा सक्रिय सुनुवारले सकारात्मक काममार्फत समाजमा परिवर्तन ल्याउन सकिने बताउनुभएको छ । उहाँका अनुसार व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा विकास र जनसेवामा प्रतिस्पर्धा आवश्यक छ । “नकारात्मकतासँग होइन, सकारात्मक कामसँग प्रतिस्पर्धा गरौँ । बोलीले होइन, कर्मले आफूलाई प्रमाणित गरौँ,” उहाँले भन्नुभयो ।
असोज १५ गतेदेखि सुरु हुने सेवाका लागि आकस्मिक अवस्थामा परेका नागरिकले उहाँलाई फोनमार्फत सम्पर्क गर्न सक्नेछन् । आवश्यकता र अवस्था हेरेर आफ्नै सवारीसाधनबाट निःशुल्क सेवा दिने सुनुवारले बताउनुभएको छ । “जहाँ समस्या, त्यहाँ नवीन । जहाँ दुःख, त्यहाँ नवीन,” भन्ने भावनासहित सुरु गर्न लागिएको यो अभियानलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता छ ।