खेलकुदमार्फत जिरीको पर्यटन प्रवद्र्धनको लागि ३ दिने खेलकुद आयोजना गरिएको छ । जिरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्राई पर्यटन प्रवद्र्धनको लागि खेलकुद आयोजना गरिएको हो ।

तिहारको अवसरमा आयोजित फुटबल प्रतियोगिता हिजोदेखि सुरु भएको छ । भोलिसम्म जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा दोलखा र रामेछापका खुला, महिला तथा ४० वर्षमाथिका भेट्रान्स विधाका गरी ४० टिम सहभागी भएका छन् । प्रतियोगिताको जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेलले उद्घाटन गर्नुभएको थियो । हरियाली र मनोरम हिमाली दृश्यका कारण पर्यटकको रोजाइमा पर्दै आएको जिरीमा खेलकुद गतिविधिमार्फत पर्यटनको नयाँ सम्भावना खोज्न प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका कोषाध्यक्ष तथा खेल व्यवस्थापक इश्वर कार्कीले बताउनुुभयो । खेल प्रतियोगिताले खेलाडी, दर्शक र खेलप्रेमीलाई जिरीसम्म ल्याउने तथा यहाँको पर्यटकीय पहिचानलाई थप प्रचारप्रसार गर्न सहयोग पुग्ने उहाँले बताउनुुभयो ।

प्रतियोगितामा खुलातर्फ विजेता टोलीले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, ४० वर्षमाथिका (भेट्रान्स) विधाका विजेता र उपविजेता टोलीलाई एक–एकवटा खसी प्रदान गरिने आयोजकले जनाएको छ । यस विधामा आठ टिम सहभागी छन् भने महिलातर्फ पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको फाइनलमा चेर्दुङ कला मञ्च जिरीको देउसीभैलोसहित विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ । खेलसँगै सांस्कृतिक कार्यक्रमले जिरीको कला, संस्कृति र स्थानीय पहिचानको प्रचारमा थप टेवा पुग्ने विश्वास आयोजकको रहेको छ । प्रतियोगिताबाट संकलन भएको रकम तिहारपछि जिरीमा स्पोट्र्स एकेडेमी स्थापना गर्न खर्च गरिनेछ । एकेडेमीमार्फत १६ वर्षमुनिका बालबालिकालाई फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टनलगायत विभिन्न खेलको नियमित प्रशिक्षण दिने योजना रहेको छ ।
जिरीको खेलकुद विकास र पर्यटन प्रवद्र्धनमा सक्रिय युवा तथा व्यवसायी लिलाराम खड्काका अनुसार खेलकुदलाई पर्यटनसँग जोडेर जिरीलाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । उहाँका अनुसार खेलकुद गतिविधि नियमित गर्न सके जिरीमा पर्यटकको आगमन बढ्नुका साथै होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा समेत आर्थिक गतिविधि विस्तार हुने अपेक्षा राखिएको छ । निर्माण व्यवसायी संघ जिरी, एक्स्प्लोर नेपाल नेटवर्क र युवा सञ्जाल जिरीको आयोजनामा भएको प्रतियोगितामा जिरी नगरपालिका सहआयोजक रहेको छ ।