दोलखा, १० भदौ
छाडा कुकुरदेखी सावधान रहन भीमेश्वर नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । दोलखाको केहि गाउँपालिकामा कुकुरको टोकाइबाट रेविज रोगको लक्षण देखा परि उपचारको क्रममा एक जनाको मृत्यु भएको पुष्टि साथै केहिको उपचार भइरहेकाले नगरपालिकाले सुचना जारी गर्दै सचेत रहन अनुरोध गरेको हो ।
आफ्नो घरमा पालिएका कुकुर समुदायमा छाडा नछोड्न तथा समुदायमा छाडा छोडिएका कुकुरहरुबाट उचित सर्तकता अपनाउन भीमेश्वर नगरपालिकाले अनुरोध गरेको छ । यसैबिच दोलखामा ३ आर्थिक वर्षको अवधिमा ६ सय भन्दा बढि सर्वसाधारणलाई कुकुरले टोकेको छ । दोलखाको विभिन्न स्थानीय तहमा आर्थिक वर्ष २०७४/७५ देखी आर्थिक वर्ष २०७६/७७ सम्मको अवधिमा ६ सय ११ जना सर्वसाधारणलाई कुकुरले टोकेको हो ।
प्राथमीक स्वास्थ्य केन्द्र चरिकोटका अनुसार ३ आर्थिक वर्षको अवधिमा २ सय ४७ जना महिला र ३ सय ६४ जना पुरुषलाई कुकुरले टोकेको छ ।
तीन आर्थिक वर्षको अवधिमा सबै भन्दा बढि आर्थिक वर्ष २०७४/७५ मा २ सय २४ जना सर्वसाधारणलाई कुकुरले टोकेको थियो । जसमा १ सय ३८ पुरुष र ८६ महिला रहेका छन् । त्यसैगरि आर्थिक वर्ष २०७५/७६ मा १ सय १५ पुरुष र १ सय ५ महिला गरि कुल २ सय २० जनालाई कुकुरले टोकेको प्राथमीक स्वास्थ्य केन्द्र चरिकोटका सुचना अधिकारी शान्ति प्रसाद न्यौपानेले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/७७ मा १ सय ११ पुरुष र ५६ महिला गरि कुल १ सय ६७ लाई कुकुरले टोकेको छ ।
प्राथमीक स्वास्थ्य केन्द्र चरिकोटका अनुसार आर्थिक वर्ष २०७६/७७ मा चैत्र महिना यता सबै भन्दा बढि कुकुरले टोकेका बिरामी अस्पताल आएका थिए । विशेष गरि भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट, वडा नम्बर २ दोलखा बजार सहितका क्षेत्रबाट कुकुरले टोकेको बिरामी अस्पताल आएका प्राथमीक स्वास्थ केन्द्र चरिकोटका मेडिकल अधिकृत डाक्टर हिमशैल खड्काले जानकारी दिनुभयो । घरपालुवा, सामुदायिक वा जुनसुकै कुकुरले टोके, चिथोरे, खोस्रे प्रभावित ठाउँलाई राम्ररी साबुनपानीले धोइ तुरुन्त अस्पताल गएर सुई लगाउन डाक्टर खड्काको सुझाव छ ।
कुकुरको र्याल मात्र छालामा परेको छ भने पनि सुई लगाउने वा नलगाउने निर्णय चिकित्सकले गर्नेछन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मानिसमा हुने करिब ९९ प्रतिशत रेबिजका लागि कुकुरलाई जिम्मेवार मानिन्छ ।
सरकारी अस्पतालमा निःशुल्क पाइनेसुई कुकुरले टोकेपछि पहिलो पटक लगाएको तेस्रो दिन र त्यसपछि सातौं दिन गरी तीनपटक लगाइन्छ । शतप्रतिशत प्राण घातक रोग रेबिजको लक्षण शरीरमा देखिएपछि उपचार सम्भव छैन । शरीरमा रेबिजको लक्षण देखिएपछि मृत्युसम्मको अवधि एक दिनदेखि एक सातासम्म हुन सक्छ । मुलुकमा बर्सेनि सयभन्दा बढी मानिसको रेबिजले मृत्यु हुन्छ भने करिब ५० हजारभन्दा बढी व्यक्ति कुकुरलगायत जनावरको टोकाइको सिकार हुन्छन् ।