नेपालमा कृष्णप्रसाद भट्टराईको सभापतित्वमा वि.स. २०१२ सालमा पत्रकार संघ स्थापना भयो । २०१९ असोजमा पशुपतिदेव पाण्डे सभापति हुँदा सात सदस्यीय कार्यसमितिमा शशिकला शर्मा सदस्य बन्नुभएको थियो । प्राप्त अभिलेख अनुसार २०४३ सालको मणिराज उपाध्यायको सभापतित्वमा गठित कार्यकारी समितिमा चन्द्रकला आँचल’ महिला सदस्यका रुपमा मनोनित हुनुभएको थियो ।
त्यो बेलादेखी नै नेपाल पत्रकार संघ महिला नेतृत्वविहीन नै रहेको देखीन्छ । केन्द्रमा मात्रै रहेको पत्रकार संघ महासंघ बन्दै जिल्ला जिल्लामा शाखा विस्तार भइसकेका छन् । पहिलो पटक २०५३ सालमा शाखा विस्तारका क्रममा सदस्य संख्या नपुगेर देवदास श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय दोलखा–रामेछाप संयुक्त जिल्ला शाखा गठन गरिएको थियो । महासंघ गठन भएको २ दशक पुरा भएको छ । हाल नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखामा १ सय ४६ जना सदस्य आवद्ध छन् । कुनै समय सदस्य संख्या नपुगेको महासंघमा हाल डेढ सय सदस्य आवद्ध छन् भन्न पाउनु गर्वकै विषय पनि हो ।
जिल्लाको ६ वटा रेडियोमा महिला ३५ र पुरुष २६ गरि कुल ६१ जना कर्मचारी छन् । यसमा जिल्लाको जिरी सामुदायीक एफएमको नेतृत्व ६ जना महिलाले गरेका छन् । त्यसैगरि जिल्लाको शैलुङ सामुदायीक एफएममा कुल १४ कर्मचारी मध्ये ९ जना महिला छन् उक्त एफएममा स्टेशन म्यानेजर, समाचार प्रमुख, प्रशासन प्रमुख महिला हुनुहुन्छ ।
पत्रकारितामा महिला : दोलखा जिल्लामा एउटा दैनिक पत्रिका (दीक्षण दैनिक) सहित ६ वटा रेडियो र केहि मात्रामा साप्ताहिक पत्रिका छन् । त्यसैगरि पछिल्लो समय अनलाईन पत्रकारिता पनि फस्टाउँदो अवस्थामा छ । यी आमसञ्चार माध्यम मध्ये सबै भन्दा बढि रेडियोमा पत्रकारहरु आवद्ध छन् । रेडियोलाई अलि फरक नै मान्नुपर्छ, यहाँ कार्यरत पत्रकारहरु कम्तिमा आठ घण्टा खटिएर काम गर्छन् । कतिपय अवस्थामा ज्वरोले थलिएको, रुघाखोकीले नाक बन्द भएको या स्वर बसेको अवस्था नै किन नहोस उनिहरुले आराम गर्न पाउँदैनन् किन कि उनिहरु जिम्मेवारीले ओतप्रोत भएका हुन्छन् । र यसरी रेडियोमा कार्यरत कुल कर्मचारी संख्यामा सबै भन्दा बढि महिला छन् । जिल्लाको ६ वटा रेडियोमा महिला ३५ र पुरुष २६ गरि कुल ६१ जना कर्मचारी छन् । यसमा जिल्लाको जिरी सामुदायीक एफएमको नेतृत्व ६ जना महिलाले गरेका छन् । त्यसैगरि जिल्लाको शैलुङ सामुदायीक एफएममा कुल १४ कर्मचारी मध्ये ९ जना महिला छन् उक्त एफएममा स्टेशन म्यानेजर, समाचार प्रमुख, प्रशासन प्रमुख महिला हुनुहुन्छ । जिल्लाकै पहिलो कालिन्चोक सामुदायीक एफएममा कुल १४ कर्मचारी रहेकामा ७ जना महिला छन्, उनिहरु मध्ये समाचार प्रमुख र कार्यक्रम प्रमुख महिला हुनुहुन्छ भने हाम्रो रेडियोमा १० जना कर्मचारी रहेकामा आठ जना महिला छन् जसमा समाचार प्रमुख, लेखा प्रमुख, प्राविधिक प्रमुख महिला नै हुुनुहुन्छ । भीमेश्वर एफएममा ११ जना कर्मचारी मध्ये २ जना महिला लेखा शाखा र समाचार वाचन गर्नुहुन्छ भने तामाकोशी एफएममा ६ कर्मचारी मध्ये ३ जना महिला कर्मचारी समाचार वाचन र कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत हुनुहुन्छ । रेडियोमा आफ्नो पुरा समय दिएर प्रत्यक्ष खट्ने महिला पत्रकार छोरी, बुहारी देखी आमा सम्म हुनुहुन्छ । उहाँहरुले आफ्नो शिक्षा, घरपरिवार देखी संस्था सम्मको जिम्मेवारी एकसाथ पुरा गर्नुहुन्छ । दोलखा जिल्लाबाट राष्ट्रिय सञ्चार माध्यममा करिव ४ जना महिला पत्रकार आवद्ध छन् ।
महासंघमा महिला नेतृत्व : आफ्नो पुरा समय पत्रकारितालाई दिने महिला नेतृत्वको अवस्था भने दया लाग्दो छ । पत्रकारिता पेशामा कटिवद्ध भइ लागेका जो कोहि पत्रकारले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा आवद्ध भई पत्रकारको हक र हितका लागी काम गर्ने इच्छा हुन्छ नै । तर यहिबाट महिलालाई हेपिएको (यसो भन्दा फरक नपर्ला) छ । २०५३ सालदेखी २०७३ सम्म महासंघमा महिला नेतृत्व हेर्ने हो भने कताकता हासो लाग्छ, अचम्ममै परिन्छ । यो दुई दशकको महासंघको यात्रामा जम्मा १० जना महिलाले कार्यसमितिमा रहने अवसर पाएका छन् । १० जना महिलाले केन्द्रिय र प्रदेश पार्षद बन्ने मौका पाएका छन् । २०५३ को पहिलो कार्यसमिति देखी २०६१ मा भएको चौथो जिल्ला अधिवेशन सम्म आइपुग्दा एक जना महिलाले नेतृत्व गर्न पाएनन् ।
महासंघ गठन भएको एक दशक पछि अर्थात २०६४ मा राजेन्द्र मानन्धरको अध्यक्षतामा गठन भएको १० सदस्यीय कार्यसमितिमा उपाध्यक्ष रश्मि श्रेष्ठ, सहसचिवमा भवानी कार्की र कार्यसमिति सदस्यमा नीता राउत गरि ३ जना चयन हुनुभएको थियो । उक्त समयमा चयन भएका ९ केन्द्रिय सभासदमा एक जना पनि महिला पर्नुभएन । २०६७ फागुन ४ गते भएको छैठो अधिवेशनले पुनः राजेन्द्र मानन्धरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भयो, जसमा सहसचिवमा मन्दिरा थापा, सदस्यमा गंगा रिमाल र हेमन्ता जिरेल हुनुहुन्थ्यो । २०६७ सालमा भने अचम्मै भएको थियो, यस अघिका ५ अधिवेशनमा सभासद नबनेका महिला यो पटक १४ सभासद मध्ये भवानी कार्की, कालिका खड्का र नीता राउत पनि चयन हुनुभयो ।
२०७० फागुन २१ गते महासंघको सातौ अधिवेशन भयो तर महिला नेतृत्व झन निराशाजनक स्थितिमा पुग्यो । उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भयो । यस अघिका २ कार्यसमितिमा मुख्य पदमै रहेका महिला यस पटक कार्यसमिति सदस्यमा सीमित भए त्यसमा पनि मात्र एक जना गायत्री आचार्य । यो पटक केन्द्रिय सभासद हुने महिलाको संख्या भने बढ्यो । १९ सदस्य सभासद मध्ये भवानी कार्की, शर्मिला बढाथोकी, मन्दिरा थापा, नीता राउत र सन्तोषि कार्की सभासद बन्नुभएको थियो ।
यस पश्चात हाल रहेको वर्तमान कार्यसमिति २०७३ फागुन १७ गते सम्पन्न भएको आठौँ अधिवेशनले जीवन लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन ग¥यो । जसमा ४ जना महिलाले कार्यसमितिमा रहने अवसर पाए । यसमा पनि महिला उपाध्यक्ष किटान गरि आएको हुँदा महिला उपाध्यक्षमा मन्दिरा थापा, सचिवमा निर्मला शिवाकोटी, कार्यसमिति सदस्यमा सिर्जना खड्का र मुना गुरुङ । त्यसो त सहसचिवमा पनि समावेशी भनिएको थियो, यसमा महिला पर्न पनि सक्थे तर नेतृत्व गर्ने अवसर कहाँ पाइन्छ र ?
नेतृत्वमा किन पुग्दैनन् महिला ? पत्रकारितामा आवद्ध महिला पुरुषको तुलनामा कुनैपनि हिसाबले कमजोर छैनन् । पुरुषलाई जत्ति स्वतन्त्रता महिलालाई हुँदैन छैन र पनि प्रतिस्पर्धामा उत्रिएका छन् उत्रिन सक्छन् महिला । शिक्षाको हिसाबले भन्ने हो भने पत्रकारिता विषयमा कक्षा ९ देखी स्नातकोत्तर तह सम्म अध्ययन गरेका तथा कम्तिमा २ वटा विषयमा स्नातकोत्तर तह हुँदै विद्यावारीधिको उपाधि हासील गरेका महिला पत्रकारिता पेशामा नै छन् । र पनि महिला र पुरुष पत्रकारले पाउने सम्मान फरक छ । एउटी महिला एक दशक देखी पत्रकारिता मै क्रियाशील भएपनि २ वर्ष पत्रकारिता नगरेका पुरुषले पाउने सम्मानबाट वन्चित हुन्छिन् । सबै हिसाबले उपयुक्त हुँदाहुँदै पनि महिला पत्रकारलार्ई किन दिइदैन उचित सम्मान अनि किन पुग्दैनन् नेतृत्वमा ? इमानदारपुर्वक महिलाले गर्ने पत्रकारिता, पत्रकारिता जगतलाई नपचेकै हो त ?
सम्बन्धित निकायको गम्भिर ध्यानकर्षण होस् ।