चरिकोट चैत्र १
भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिघ्याङकी मन्दिरा वुढाथोकीलाई पहिले आगो देखी असाध्य डर लाग्थ्यो, भान्छामा एलपीजी ग्यासमा खाना पकाउँदा आगलागी भएमा के गर्ने ? वा ग्यासको सिलिण्डर पड्किने पो हो की ? मन्दिराको मनमा जहिल्ले त्रास हुन्थ्यो । अहिले उनै मन्दिरा छिमेकीका अन्य गृहीणीहरुलाई ग्यासबाट आगो लागे कसरी नियन्त्रण गर्ने भन्ने सिप सिकाउन सक्षम हुनु भएको छ ।
१११ औं अन्र्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा एक सय भन्दा बढी महिलाहरुको उपस्थितीमा मन्दिराले ग्यासबाट लागो लागे के कसरी नियन्त्रण गर्ने भनेर प्रर्दशनी नै गर्नु भयो । भीमेश्वर नगरपालिकाले आयोजना गरेको अन्र्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा मन्दिराले ग्यासबाट आगो लागेमा नियन्त्रण गर्ने सरल र सहज तरिका प्रर्दशन गरे पछि कार्यक्रममा सहभागी अन्य महिलाहरु उत्साहित बनेका थिए ।
भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ का महिलाहरु अहिले भान्छाकोठामा हुने आगोलागी आफै नियन्त्रण गर्न सक्षम भएका छन् । भीमेश्वर नगरपालिकाले युरोपेली युनियनको मानवीय सहायता विभागको आर्थिक सहयोग अनि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसँगको सहकार्य र हुराडेक नेपाल दोलखाको सहजीकरणमा सञ्चालन गर्दै आएको परियोजना मार्फत आगलागी नियन्त्रण सम्वन्धि क्षमता विकास तालिम सञ्चालन गरे पछि महिलाहरु घरायसी आगलागी नियन्त्रण गर्न सक्षम भएका हुन् ।
बहुप्रकोप जोखिमयुुक्त शहरी क्षेत्रमा विपद् जोखिम न्युनीकरण एवं आपत्कालीन प्रतिकार्य क्षमता अभिवृद्धि परियोजना मार्फत अहिले शहरी क्षेत्रमा आगलागीबाट हुने क्षति न्युनिकरणका लागि विभिन्न क्रियाकलाप सञ्चालन भईरहेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
शहरी क्षेत्रमा बाक्लो बस्ती हुने भएकोले आगो लागेमा त्यसले ठुलो क्षति पुर्याउने सम्भावना हुने भएकोले सावधानी सहित पुर्वतयारीका लागि परियोजनासँगको सहकार्यमा आगोलागी नियन्त्रणका गतिविधिहरु सञ्चालन भईरहेको भीमेश्वर नगरपालिकाका विपद् जोखिम व्यवस्थापन फोकल पर्सन तथा ईन्जिनीयर सुरेस राउत बताउँनु हुन्छ ।
दोलखाको सदरमुकाम चरिकोट बजार क्षेत्र समेत पर्ने भएकोले भीमेश्वर नगरपालिकाको वडा नम्बर ३ र ६ मा बाक्लो वस्ती रहेको छ । बाक्लो वस्तीमा विद्युतीय गडबडी होस् या भान्छा कोठमा हुने कमजोरीका कारण आगो लाग्न सक्ने उच्च सम्भावना हुने गर्छ । समुदाय स्तरबाटै पुर्वतयारी गर्न सकेमा ठुलो क्षतिलाई समेत कम गर्न सकिने ईन्जिनीयर राउत बताउँनु हुन्छ । चरिकोट बजार क्षेत्रमा यस अघि अगोलागीका कारण ठुला ठुला क्षतिका घटनाहरु भएकोले अगामी दिनमा त्यस किसिमका क्षति दोहोरिन नदिनका लागि काम भईरहेको ईन्जिनीयर राउतले बताउँनु भयो ।
भान्छाकोठामा होस् या घरमा आगो लागी हालेमा डराउने र हडबडाउने आत्तिने जस्ता कार्य गर्न नुहने बरु नआत्तिकन चलाखीपुर्वक कार्य गरेमा सहजै आगो नियन्त्रण गर्न सकिने बरिष्ठ अग्नी नियन्त्रक तथा प्रशिक्षक किशोरकुमार भट्टराई बताउँनु हुन्छ । ग्यास सिलिण्डरबाट हने आगोलागी नियन्त्रण गर्न त्यति गाह्रो नुहने तर सजकता भने अपनाउनु पर्ने भट्टराई बताउँनु हुन्छ ।
परियोजना मार्फत समुदायमा विपद् पुर्वतयारीका लागि क्षमता विकासका साथै अन्य गतिविधि सञ्चालन भईरहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का भेष पराजुलीले बताउँनु भयो । परियोजनाले नगर स्तरिय विपद् व्यवस्थापन समिति र वडा स्तरीय विपद् व्यस्थापन समिति र महिला समुहहरुलाई लक्षित गरी विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका विभिन्न सिप विकासका कार्यक्रम सञ्चालन भईरहेको पराजुललीले जानकारी दिनु भयो । समुदाय स्तरमा अगोलागी नियन्त्रण, खोज तथा उद्धार र प्राथामिक उपचार जस्ता क्षमता विकासका गतिविधि सञ्चालन हुने र जसका कारण विपद् पुर्वतयारीमा सहयोग पुग्न गई विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने पराजुलीको भनाई छ । परियोजना मार्फत सचेतना, क्षमता विकासका साथै नगरपालिकालाई विपद् व्यवस्थापन सम्वबधि नीति निर्माण र कार्यन्वयनका लागि समेत आवश्यक सहयोग गरिएको पराजुलीले बताउँनु हुन्छ ।
आगोलागी नियन्त्रण सम्वन्धि विभिन्न चरणमा सञ्चालन भएका तालिममा हाल सम्म दुई सय ६३ जनाले सहभागिता जनाएका छन् । जसमा ९७ जना महिला रहेको परियोजनाको आवश्यक सहजीकरण गर्दै आएको स्थानीय सामाजिक संस्था मानव अधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाका परियोजना अधिकृत राजेश भट्टराईले जानकारी दिनु भयो । भट्टराईका अनुसार नगर र वडा स्तरिय विपद् प्रतिकार्य टोली र महिला समुहलाई लक्षित गरी तामिलका साथै घटना नियन्त्रण अभ्यास लगायतका क्षमता विकासका गतिविधि सञ्चालन भएका थिए ।
तालिम मार्फत फायर एक्स्ट्रग्युसर प्रयोग र अन्य विधि मार्फत आगो नियन्त्रण गर्ने उपाय बारे अभ्यासन सहित जानकारी गराईएको थियो । नगर र वडा स्तरिय विपद् प्रतिकार्य समुहका लागि आयोजना गरिएको आगोलागी नियन्त्रणमा तालिममा नेपालकै बरिष्ठ अग्नी नियन्त्रक तथा प्रशिक्षक किशोरकुमार भट्टराईले प्रशिक्षण दिनु भएको थियो । समुदाय स्तर र महिला समुहका लागि आयोजना गरिएको तामिलमा भने नगर स्तरिय विपद् प्रतिकार्य समितिका प्रशिक्षकले सहजीकरण गरेका थिए ।
भीमेश्वर नगरपालिकाले पनि आगोलागी नियन्त्रणलाई उच्च प्राथामिकतामा राखेको छ । नगरपालिकाले दमकललाई २४ औं घण्टा तयारी अवस्थामा राखेको छ भने आललागी हुन सक्ने जोखिमपुर्ण स्थानहरुको पहिचान गरी पुर्वतयारी र सर्तकता अपनाउन आग्रह गरेको छ ।