विद्यार्थीहरुले मेलुङ गाउँपालिकाको विकासको खाका कोरेका छन् । विगतमा मेलुङ गाउँपालिकाको विकास कस्ता थिए ? अहिले कसरी विकास भईरहेका छन् र भावी दिनमा कस्तो हुनुपर्छ भनेर सपना कोरेका हुन् । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, रोजगार र कृषिलाई प्राथमिकता दिन सकेमा समृद्ध मेलुङ, सुखी मेलुङबासी हुन सक्ने ७ जना विद्यार्थीहरुले कोरेको सपनामा उल्लेख गरिएका छन् ।
सन्तोष कार्की स्मृति प्रतिष्ठानले आयोजना गरिएको मेरो सपनाको मेलुङ विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरुले आफूले सोचेको मेलुङको विषयमा विचार व्यक्त गरेका थिए । सन्तोष कार्की स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष माघ ६ गते शिक्षासँग विविध गतिविधिहरु गर्दै आएको छ । यसै सन्दर्भमा यस वर्ष मेलुङ गाउँपालिकाभित्र रहेका मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा मेलुङ गाउँपालिका भित्रका ७ वटा माविका ७ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
मावि स्तरीय वक्तृत्वकला र प्रावि स्तरीय श्रृति लेखन प्रतियोगिता सन्तोष कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष डाक्टर वासुदेव कार्कीको अध्यक्षता र मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्य, प्रतिष्ठानका सचिव अमृत खड्का र प्रतिष्ठानका कार्यक्रम संयोजक शैलेन्द्र रायमाझीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा भीम मावि धनुकेका सचिन अधिकारी प्रथम, त्रिभुवन मावि मेलुङका अनुजा लामा द्धितीय, डाँडाखर्क माविका निशा थापा तृतीय र निरुता खड्का चौथो भएका थिए । साथै विजय छात्रछात्राहरुलाई क्रमशः नगद पाँच हजार, प्रमाणपत्र र ट्रफी, तीन हजार, प्रमाणपत्र, र ट्रफी र दुई हजार, प्रमाण र ट्रफी वितरण गरिएका थिए । त्यस्तै श्रृति लेखनतर्फ शिवनारायण थापा प्रथम, आयुषा ठकुरी द्धितीय, आख्यान खड्का तृतीय र रिप्सन ठकुरी चौथो भएका थिए ।
शैलुङ गाउँपालिका निवासी सन्तोष कार्की भीमेश्वर एकाडेमी गोठाटार काठमाडौमा कक्षा २ मा अध्ययनरत थिए । २०६६ साल माघ ६ गते गोठाटारमा स्थानीयहरुबीच झडप भएको थियो । उक्त झडपमा गोली चल्दा निदोर्षी सन्तोष कार्कीको गोली लागेर मृत्यु भएको थियो । तिनै कार्कीको सम्झनामा भीमेश्वर एकाडेमी र परिवारले प्रतिष्ठान स्थापना गरेका थिए । सोही प्रतिष्ठानले दोलखालगायत देशका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको छ ।