दोलखाको शैलुङ गाउँपालिका–७ फस्कु साँगुतेमा निर्माण भएको बौद्ध विहार (ध्यान केन्द्र) मा भक्तजनको आकर्षण बढेको छ । बुद्धत्व प्राप्त एकमात्र जीवित विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोको उपप्रधान एवम् परराष्ट्र पूर्वमन्त्री नारायणकाजी श्रेष्ठले दर्शन भेट गरेपछि भक्तजन बढेको हो ।
बर्मामा जन्मिएर भियतनाममा बस्दै आउनु भएका विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडो विगत तीन महिनादेखि शैलुङ गाँउपालिका–७ मा रहेको बौद्ध विहारमा रहनुु भएको छ । विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोलाई बर्मा, भियतनाम, थाईल्याण्ड, लाओस, कम्बोडिया लगायतका मुलुकमा बौद्ध धर्माम्वलम्बीहरुले बुद्धकै रुपमा पुज्ने गरेका छन् ।
विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोकै पहलमा फस्कुमा ध्यान केन्द्र निर्माण गरिएको हो । यस ठाउँमा झण्डै एक सय १० रोपनी क्षेत्रफलमा बौद्ध विहारको निर्माण सुरु गरिएको धम्मा दायदा मनास्टेरी पाउक नेपालका अध्यक्ष रामचन्द्र बस्नेतले बताउनु भयो । विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोले यस ठाउँलाई पवित्र भूमिको रुपमा रोज्नु भएको बस्नेतले बताउनु भयो ।
फस्कु साँउतेको बौद्ध विहारमा अहिले विश्व बौद्ध भिक्षु गुरु फारुक स्याडोसहित नेपाल, भारत, अमेरिका, बर्मा, थाईल्याण्ड, भियतनाम लगायतका सय जनाले ध्यान गरिरहेको पनि बस्नेतले बताउनु भयो । यस ठाउँमा ध्यान गर्न आउनेहरुको लागि ७, १०, १५ दिनदेखि ३ महिनासम्मको कोर्ष हुने गर्दछ । उनीहरुलाई आयोजकले निःशुल्क खाना र बस्नको व्यवस्था गर्दै आएको छ । अहिले १० वटा कुटी र दुई वटा हलमा ध्यान गर्दै आएका छन् । ध्यानमा बस्नेको माग बढिरहेकाले ३ वटा ध्यान केन्द्र तीव्र गतिमा निर्माणधीन छन् । यस ठाउँमा तामाकोशी बजार नयाँ पुलबाट २८ किलोमिटर सडक यात्रा गरी पुग्न सकिन्छ ।