दोलखाको रमणीय उपत्यका जिरीको शिरमा छ, गुराँसपार्क । २७ सय मिटर उचाईमा रहेको रगविरंगका गुराँस फूलेर पार्क ढकमक्क भएको छ । वनक्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकका लागि पूर्वाधार निर्माण गरिएको छ । यहाँ पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका छन् । पार्कसम्मै सडक सञ्जाल जोडिएको छ ।

यही रमणीय गुराँसपार्कको प्रवद्र्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवद्र्धन मञ्च नेपालले ‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ गरेको छ । बागमती प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्रीसमेत रहेका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले नयाँ वर्षको अवसर पारेर गुराँसपार्कबाट अभियानको शुभारम्भ गरेका हुन् । नयाँ वर्षमा घुम्न आएका भरिभराउ पर्यटकबीच आयोजित शुभारम्भ कार्यक्रममा सांसद श्रेष्ठसहित जिरी नगरपालिकाका प्रमुख तथा जनप्रनिधिहरू, काठमाडौं महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकार, काठमाडौंबाट आएका पाहुना र स्थानीयको सहभागिता रहेको ‘जाऔं है गुराँसपार्क’ अभियान पर्यटन अभियन्ता लिलाराम खड्काले बताउनु भयो ।
.JPG)
जिरी नगरपालिका वडा नं. ४ का जिरेल महिला समूहले सांसद श्रेष्ठलगायत पाहुना टोलीलाई गुराँसको माला र परम्परागत नृत्यमार्फत न्यानो स्वागत गरेका थिए । गुराँसपार्क अवलोकनपछि सांसद श्रेष्ठले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भयो । ‘यो जस्तो सुन्दर दृश्य भएको पर्यटकीयस्थल मैले बिरलै देखेको छु । प्रत्येक नेपाली आएर घुम्नु पर्छ भन्ने मैले लिएको छु’, उहाँले भन्नुभयो । सांसद श्रेष्ठको पहलमा आर्थिक वर्ष २०८१/८१ गुराँसपार्कको पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन भएको थियो । त्यस्तै काठमाडौं महानगरपालिका वडा नं. ११ का अध्यक्ष तण्डुकारले गुराँसपार्क सौन्दर्यको दृष्टिकोणले उत्कृष्ट रहेको बताउनु भयो । काठमाडौंबाट आएका पाहुना भक्तशंकर श्रेष्ठले गुराँसपार्कलाई जिरीको मात्रै नभएर नेपालकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो ।
‘जाऔं है गुराँसपार्क’ अभियान पर्यटन अभियन्ता खड्काको सक्रियतामा ‘पर्यटन प्रर्वद्धन मञ्च, नेपाल’को ब्यानरमा आयोजना गरिएको हो । उद्यमी खड्का करिव डेढ दशकदेखि जिरी–दोलखालगायत नेपालको ग्रामीण पर्यटन विकास एवम् प्रवद्र्धनमा क्रियाशील छन् । यही सिलसिलाअन्तर्गत ‘जाऔं है गुराँसपार्क’ अभियानको शुभारम्भ भएको हो । यसअघि उहाँले ‘जाऔं है चेर्दुङ’ अभियान सुरु गर्नुभएको थियो । जिरीको शिरमा रहेको हिलस्टेसन चेर्दुङमा अहिले पर्यटकीय चहलपहल बढेको छ । ‘गुराँसपार्कमा पनि आन्तरिक र वाह्य पर्यटकलाई तान्न हामीले अभियान चलाएका हौं’, अभियन्ता खड्का बताउनुहुन्छ । ‘हामी विशेषतः प्रचारात्मक कार्यक्रममा जोड दिनेछौ । गुराँसपार्क र चेर्दुङको भिडियो र ब्रोसर पनि बनाउँछौं।’
जिरीबाट १० किलोमिटर दूरीमा रहेको गुराँसपार्क गाडीमार्फत् ४० मिनेटमा पुग्न सकिन्छ । जिरीका होटलमा बसेर गुराँसपार्क, चेर्दुङलगायतका सम्पदा घुम्न सकिन्छ ।