जिरी नगरपालिका–६ स्थित ऐतिहासिक खार्वोक गुम्बा स्थानीय समुदायको पहल, आर्थिक सहयोग र श्रमदानबाट पुनः ठडिँदै छ । करिब ६ सय वर्ष पुरानो जिरेल समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा रहेको यो गुम्बा २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण सुरु गरिएको हो ।
पुनर्निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसके पनि आवश्यक बजेट अभावका कारण अन्तिम चरणको काम रोकिएको छ । गुम्बालाई पूर्णता दिन अझै करिब ३० लाख रुपैयाँ आवश्यक पर्ने गुम्बा व्यवस्थापन समितिले जनाएको छ । गुम्बा पुनर्निर्माणका लागि प्रारम्भिक चरणमा जिरी नगरपालिकाबाट १४ लाख रुपैयाँ, वडा नं. ६ कार्यालयबाट १४ लाख रुपैयाँ तथा बागमती प्रदेश पर्यटन विकास आयोजनाबाट दुई चरणमा १७ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । यसबाहेक स्थानीयवासीले करिब १६ लाख रुपैयाँ चन्दा संकलन गर्नुका साथै श्रमदान गरेर पुनर्निर्माण अभियानलाई अघि बढाएका थिए ।
गुम्बा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष मनोज जिरेलका अनुसार मुख्य भवन निर्माण सम्पन्न भए पनि फिनिसिङ, भित्री सजावट, किचन, शौचालय, स्नानगृह, विद्युत् जडान, ध्यान केन्द्र तथा घेराबार निर्माणका लागि आवश्यक बजेट अभाव हुँदा काम अधुरै रहेको छ । उहाँले स्थानीयको बलियो साथका कारण पुनर्निर्माण यहाँसम्म आइपुगे पनि अन्तिम चरण पूरा गर्न तीनै तहका सरकार र सरोकारवाला निकायको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
गुम्बा व्यवस्थापन समितिका उपाध्यक्ष कालु जिरेलका अनुसार जिरेल समुदायका पुर्खा केशार लामाले करिब ६ सय वर्षअघि तिब्बतमा बौद्ध शिक्षा अध्ययन गरी जिरी फर्किएपछि जिरेल समुदायलाई एकताबद्ध गर्दै खार्वोक गुम्बाको स्थापना गर्नुभएको थियो । त्यसयता यो गुम्बा जिरेल समुदायको धार्मिक आस्था, सांस्कृतिक परम्परा, सामाजिक एकता र पहिचानको केन्द्रका रूपमा रहँदै आएको छ ।
खार्वोक गुम्बा केवल पूजा–आराधनाको स्थल मात्र होइन, जिरेल समुदायको इतिहास, सभ्यता र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिको जीवन्त प्रतीक पनि हो । यहाँ बुद्ध जयन्ती, धार्मिक अनुष्ठान, काजकिरिया तथा समुदायका महत्वपूर्ण सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । भूकम्पपछि गुम्बा पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधि प्रभावित हुँदै आएका छन् । स्थानीयवासीका अनुसार खार्वोक गुम्बाको पुनर्निर्माण सम्पन्न भएपछि यसले जिरेल समुदायको धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउनुका साथै जिरीको ऐतिहासिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याउनेछ । ऐतिहासिक सम्पदाको संरक्षणसँगै यो गुम्बा जिरीको गौरव र पहिचानका रूपमा स्थापित हुने विश्वास स्थानीयले गरेका छन् ।
गुम्बा व्यवस्थापन समितिले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको खार्वोक गुम्बाको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग आवश्यक बजेट उपलब्ध गराइदिन आग्रह गरेको छ । साथै जिरेल समुदायका सदस्य, शुभेच्छुक तथा सम्पदा संरक्षणमा चासो राख्ने सबैलाई यस अभियानमा साथ दिन पनि अनुरोध गरेको छ ।