शिक्षा भनेको केवल पुस्तकको ज्ञान मात्र होइन, जीवनको उज्यालो पथ हो । यही उज्यालो पथतर्फ आकर्षित भएका छन् सिन्धुपाल्चोकको मुडे बजार र निगाले क्षेत्रका अभिभावक र विद्यार्थीहरू । दैनिक बोलेरो रिजर्भ गरेर करिब डेढ घण्टा टाढाको दुर्गा माध्यमिक विद्यालय पुग्छन् ।

शैलुङ गाउँपालिका–४, मागापौवामा अवस्थित दुर्गा मावि आजभोलि टाढाटाढाबाट विद्यार्थीहरू आकषिर्त गर्न सफल भएको छ । मुडे बजार र निगालेका अभिभावकहरूले मासिक ५० हजार रुपैयाँ खर्चेर बोलेरो गाडी रिजर्भ गरी आफ्ना बालबालिकालाई विद्यालय पठाउने गरेका छन् । एलकेजीदेखि कक्षा ८ सम्मका १६ जना विद्यार्थी अहिले सो क्षेत्रबाट दुर्गा माविमा अध्ययनरत छन् । विद्यार्थीलाई हिडेर विद्यालय पुुग्न एक डेढ घण्टा र बेलुकी घर फर्किन उकालो बाटो भएकाले दुुई घण्टासम्म लाग्ने गर्छ । मुडेबाट दुुर्गा माविसम्म ९ किलोमिटर दुरी रहेकोले बोलेरो गाडीमा २० मिनेट जत्ति लाग्ने गरेको युवा नेता नेत्र मोक्तानले जानकारी दिनुुभयो ।

विद्यालयको शान्त र आकर्षक वातावरण, स्मार्ट बोर्डसहितको प्रविधिमैत्री पठनपाठन, अनुशासित कक्षाकोठा, र अतिरिक्त क्रियाकलापमा पनि अग्रसरता देखिएकोले विद्यार्थी तथा अभिभावकहरूमा विश्वास बढेको प्रधानाध्यापक बालकृष्ण दाहाल बताउनुहुन्छ । उहाँका अनुसार, “यसअघि मुडे बजार क्षेत्रबाट आएका दुई जना विद्यार्थीको वार्षिक परीक्षामा उत्कृष्ठ नतिजाले अन्य अभिभावकमा समेत यो विद्यालयप्रति भरोसा बढाएको हो ।“

स्कुलबाट मुडे बजार, निगाले घर फर्किन कहिलेकाही त सार्वजनिक सवारी साधन पाइएला तर बिहानको समयमा भने न बस चल्छ, न त स्कुलको आफ्नै बस छ । त्यसैले अभिभावकहरूले यही बैशाख महिनादेखि नियमित रूपमा बोलेरो रिजर्भ गरेर पठाउन थालेका हुन् । दुर्गा माविमा अहिले कक्षा १२ सम्म गरी ४३५ विद्यार्थी अध्ययनरत छन् । यहाँ अध्ययनरत विद्यार्थी मागापौवा क्षेत्रका मात्र होइनन्, दूधपोखरी, भूषाफेदा जस्ता स्थानबाट पनि २ घण्टा पैदल हिँडेर विद्यार्थीहरू विद्यालय आइपुग्छन् । जब अन्य विद्यालयहरू विद्यार्थी अभावको समस्याबाट गुज्रिरहेका छन्, दुर्गा माविले भने नयाँ सम्भावनाको यात्रा तय गरिरहेको छ ।
विद्यालयका हरेक कक्षाकोठामा प्रवेश गर्नु अघि विद्यार्थी र शिक्षकले जुत्ता–चप्पल बाहिरै खोल्ने परम्परा छ । यसले अनुशासन र स्वच्छताको अभ्यास गराउने मात्र होइन, आत्मीयता र आदर्श शिक्षाको वातावरण पनि सिर्जना गरेको छ । “हामी विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित गर्दैनौं, जीवनोपयोगी सीप र व्यवहारिक ज्ञानका लागि पनि साप्ताहिक रूपमा अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं–प्रधानाध्यापक दाहालको भनाइ छ ।
दुर्गा मावि अहिले केवल एक शैक्षिक संस्था मात्र होइन, ग्रामीण भेगका बालबालिकाको उज्यालो भविष्यको केन्द्र बन्दै गएको छ, जहाँ अभिभावकले सस्तो विकल्प होइन, गुणस्तर रोजिरहेका छन् ।
तस्बिरः स्कुलको फेसबुुक वालबाट