गौरीशंकर गाउँपालिकाको आर्थिक वर्ष ०८१/८२ को पालिका स्तरीय सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले आर्थिक वर्षमा कार्यान्वयनमा ल्याइएका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्नो कार्यकालको सुरुमा आउँदा पूँजीगत खर्च ०.१३ प्रतिशत मात्र रहे पनि बाँकी योजनाहरू समयमै सम्पन्न गर्न पहल गरिएको जानकारी दिनुभयो । “गाउँपालिकाको भौगोलिक बनावट, सामाजिक अवस्था र स्थानीय समस्या बुझ्दै शिक्षा, स्वास्थ्य, यातायात, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाइएको छ,“ प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले बताउनुभयो । साथै, सहभागी सेवाग्राहीले राखेका जिज्ञासा, सुझाव र गुनासोको समेत उहाँले प्रस्टिकरण दिनुभयो ।

कार्यक्रममा वडा नं. ५ का राजन घतानी, प्रेमबहादुर तामाङलगायतले विभिन्न जिज्ञासा र सुझाव राख्नुु भएको थियो । ती सवालहरूको जवाफ गाउँपालिका अध्यक्ष विश्वास कार्की, उपाध्यक्ष उमा लुङगेली मगर शेर्पा र प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले दिनुभयो । अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न सुनुवाइ कार्यक्रममा उहाँले सार्वजनिक सुनुवाइलाई जनप्रतिनिधिका लागि आत्मसमीक्षा र मार्गदर्शनको अवसरको रूपमा लिँदै भन्नुभयो, “नागरिकले उठाएका गुनासोलाई सुझावका रूपमा लिएर सुधार गर्दै अघि बढ्नेछौँ।“

उहाँले कार्यकालमा केही सडकहरू पक्की गर्दै वर्षभर सञ्चालनयोग्य बनाउने, नागरिकलाई स्वास्थ्य सेवा पहुँचमा पुर्याउने तथा उपलब्ध बजेटको दायरा भित्र पर्यटन प्रवद्र्धनमा लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष प्रकाश बहादुर खड्का, पत्रकार चिरञ्जीवी मास्के र गोकर्ण भण्डारीले समेत मन्तव्य राख्नु भएको थियो ।