रोल्वालिङ खोला जलविद्युत आयोजनासँग स्थानीयको सम्झौता कार्यान्वयन गर्न माग गर्दै रिकुबासीले दबाब दिएका छन् । गौरीशंकर गाउँपालिका–९ स्थित रिकु बस्तीका स्थानीयले आयोजनाले सामाजिक उत्तरदायित्व बमोजिम र सञ्चालनपूर्व भएको सहमति अनुसार माग पूरा गर्न आग्रह गरेका हुन् ।

रोल्वालिङ खोला जलविद्युत आयोजनाको दबाबमूलक संघर्ष समितिका उपाध्यक्ष होम बहादुर खड्काले आयोजनासँग पटक–पटक गरिएको मौखिक तथा लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तोष व्यक्त गर्नुभयो । उहाँका अनुसार एक घर एक रोजगार, रोकिएका निर्माण कार्य पुनः सुरु गर्ने, करारमा रहेका ४ कर्मचारीलाई तलब–पारिश्रमिक तत्काल दिनुुपर्ने र काम गर्दा स्थानीयको सुझावअनुसार अघि बढ्नुपर्ने स्थानीयको प्रमुख माग हो ।

यस्तै, हाल निर्माणाधीन पदमार्गलाई कम्तीमा ३ मिटर फराकिलो बनाउनुपर्ने, रिकुसम्म सडक विस्तार गर्नुपर्ने, गाउँमा हुने सामान्य ठेक्का कार्यमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने र रोजगारीमा योग्यता, सीप तथा क्षमताका आधारमा क्रमशः रिकुबासी, वडा नं ९ र जिल्लाबासीलाई प्राथमिकता दिनुपर्ने माग पनि स्थानीयले राखेका छन् ।

स्थानीय भीम बहादुर खड्काले आफ्नो उब्जनी हुने बारीमा आयोजना पक्षले भौतिक संरचना बनाएर सामग्री राखेको र त्यसको सट्टा रोजगारी नपाएको गुनासो गर्नुभयो । “हाम्रो माग पूरा नभए बारी जस्ताको तस्तै गरिििदनुपर्ने” उहाँले भन्नुभयो । त्यस्तै रिकुबासीले रोपवेबाट सामग्री ल्याउने व्यवस्था मिलाउन, कार्यालय कर्मचारीमा बाहिरबाट व्यक्ति नराख्न, हाईहिमालबाट आएका केही कर्मचारीले स्थानीयसँग व्यवहार ठीक नगरेको भन्दै त्यस्ता कर्मचारी नपठाउनसमेत माग गरेका छन् ।

गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमागेली शेर्पाले स्थानीयको माग जायज रहेको बताउँदै आयोजनाले समयमै सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुुभयो, “स्थानीयले उठाएका कतिपय माग पूरा भएका छन्, केही अझै बाँकी छन् । काम रोक्ने स्थिति आउनु नदिन बेलैमा सम्बोधन गर्नु जरुरी छ ।”
तर आयोजनाका प्रवन्धक मनोज ताम्राकारले भने सबै माग सम्भव नभएको स्पष्ट पार्नुभयो । उहाँले सुरुमा लामाबगरदेखि रिकुसम्म पदमार्ग निर्माण गर्ने सहमति भए पनि पछिल्लो समय सडक निर्माणको माग आउँदा कार्यान्वयनमा समस्या भएको बताउनुभयो । “पदमार्ग बनाउने काम सुरु गरेका थियौं, तर अहिले वर्षा भएको कारण केही समय काम रोक्नुपरेको हो,” उहाँले स्पष्ट गर्नुभयो ।