जिरी नगरपालिकाबाट हरेक वर्ष वर्षायाममा मात्र १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको आलु निर्यात हुने गरेको छ । नगरपालिकाको बुलडाँडा, सिक्री, त्रिशुले, माली, श्यामा, यलुङ, सिउरानी, ओखरे, ढुंगे, भण्डारे, ठूलोपातललगायतका क्षेत्रमा व्यावसायिक रूपमा आलुखेती हुँदै आएको छ ।

“एक घरले वर्षमा न्यूनतम २ लाखदेखि ५ लाख रुपैयाँसम्मको आलु बिक्री गर्छ,” जिरी नगरपालिका–६ लिंकन बजारका आलु संकलक तथा बिक्रेता याम बहादुर जिरेलले बताउनु भयो । उहाँका अनुसार बोलेरोजस्ता साना सवारीसाधन गाउँसम्म पुग्न थालेपछि किसानले उत्पादन सजिलै बजार पु¥याउन थालेका छन् । जेठको अन्तिम सातादेखि असोजको पहिलो सातासम्म आलु संकलन तथा निर्यात काठमाण्डौको कालिमाटी बजारमा पठाइन्छ ।

जिरेललगायत जिरी नगरपालिकामा ३ जना आलु संकलक सक्रिय छन् । गत वर्ष यामबहादुर जिरेल एक्लैले ४ लाख ८६ हजार किलो आलु संकलन गर्दै करिब ३ करोड रुपैयाँ बराबरको कारोबार गर्नुभएको थियो । यस वर्ष अहिलेसम्म १ लाख ९८ हजार किलो आलु निर्यात भइसकेको छ । तर, यस वर्ष आलुको मूल्यमा गिरावट आएको उहाँ बताउनुु हुन्छ । “गतवर्ष ७० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको आलु अहिले ३६ रुपैयाँमा झरेको छ,” उहाँले भन्नुभयो “मूल्य घट्दा किसानको आम्दानी घट्ने त भयो नै, उत्पादनको लगानीसमेत उठाउन हम्मेहम्मे पर्छ ।”
जिरी नगरपालिका–६ बुलडाँडाका किसान सोनी शेर्पाको अनुभव पनि यस्तै छ । “गत वर्ष ५५ रुपैयाँसम्ममा आलु बिक्री भएको थियो, यो वर्ष ३५ रुपैयाँसम्म मात्र पाउने आशा छ,” उहाँले दुःख पोख्नुु भयो । उहाँका अनुसार बुलडाँडाबाट मात्रै वर्षेनी २० लाख रुपैयाँभन्दा बढीको आलु निकासी हुन्छ ।
बुलडाँडामा २० घर जति किसानले मात्र आलुखेती गर्दै आए पनि त्यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाएको छ । बजार पहुँच विस्तार, भण्डारण तथा मूल्य स्थायित्वका लागि स्थानीय तह र सम्बन्धित निकायको ध्यान नपुगे किसानहरूको अवस्था थप जटिल हुनसक्ने देखिन्छ ।