जिरी नगरपालिका–६ मा अवस्थित जिरी माध्यमिक विद्यालय नवनिर्मित भवनको उदघाटनको तयारीमा छ । चीन सरकारको सहयोगमा निर्माण भएको यो सुविधासम्पन्न विद्यालय भवन हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ ।

जिरी माविका प्रधानाध्यापक कुमार जिरेलका अनुसार सम्भवतः असोज महिनाभित्र विद्यालय चीन सरकारबाट औपचारिक रूपमा हस्तान्तरण हुनेछ । २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेको विद्यालयको संरचना करिव १० वर्षपछि पुनर्निर्माण भएको हो । चाइना एडमार्फत निर्माण गरिएको विद्यालय परिसरमा कुल ७ वटा आधुनिक भवन रहेका छन् । ती भवनमा ४१ वटा कक्षा कोठा, छात्र तथा छात्रावास, शिक्षक आवास, सभा हल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याब, नृत्य कक्ष र चित्रकला कोठा रहेका छन् ।

२०८० साल वैशाख ४ गते शिलान्यास गरिएको यो निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न भएको हो । चीन सरकारले उक्त संरचना निर्माणमा १ अर्ब ३९ करोड ३८ लाख ५२ हजार ६९४ रुपैयाँ लगानी गरेको थियो । नयाँ कक्षा कोठामा विद्युतीय बोर्ड, पावर सर्किट, पर्याप्त उज्यालो, र प्रत्येक विद्यार्थीका लागि डेस्क–बेञ्चको व्यवस्था गरिएको छ । प्रधानाध्यापक जिरेलका अनुसार, भवन जिरीको भौगोलिक तथा मौसमीय अवस्थालाई ध्यानमा राखी निर्माण गरिएकोले सुविधासम्पन्न मात्र नभई पर्यावरणमैत्री समेत छ ।

विद्यालयमा हाल कक्षा १२ सम्म ५११ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । दोलखाका अधिकांश पालिकाका साथै काठमाडौं, रामेछाप र सोलुखुम्बु लगायत जिल्लाबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आएका छन् ।

विद्यालयसँग तीन सय रोपनीभन्दा बढी जग्गा भएकाले होस्टेलमा बस्ने विद्यार्थीका लागि तरकारी उत्पादनदेखि ‘कमाउँदै पढ्ने’ अभियान सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ । किवीखेतीसहित आत्मनिर्भर कृषि प्रणालीको अभ्यास गरिने प्रधानाध्यापक जिरेलले जानकारी दिनुु भयो । उहाँका अनुसार, यो विद्यालयलाई अब जिल्लाकै ‘शैक्षिक हव’ को रूपमा विकास गर्ने स्पष्ट योजना बनाइएको छ ।
