दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ सुरीमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गएराति तोडफोड भएको छ । स्थानीय केही युवाले स्वास्थ्य केन्द्रभित्र प्रवेश गरी व्यापक तोडफोड गर्दा करिव १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
गएराति करिब साढे ९ बजेतिर सुरीकै करिव २५ वर्ष उमेरका एक युवक उच्च रक्तचाप जाँच गराउन स्वास्थ्य केन्द्र आएका थिए । अहेवद्वारा जाँच गरिएकोमा असन्तुष्टि जनाउँदै थप जाँच गर्नुपर्ने भन्दै विवाद सुरु भएको र त्यसपछि ७–८ जनाको समूहले स्वास्थ्य केन्द्रमा तोडफोड गरेको गौरीशंकर गाउँपालिका–५ का वडाध्यक्ष सुन्दर खड्काले जानकारी दिनुभयो । अहेवले नभई डाक्टरलेनै जाँच गर्नुपर्ने युवाहरुको भनाई थियो ।

तोडफोडका क्रममा स्वास्थ्य केन्द्रका अत्यावश्यक स्वास्थ्य सामग्री, भ्याक्सिन राख्ने फ्रिज, अतिआवश्यक औषधि, बीपी सेट, कुर्सी, झ्याल–ढोका लगायतका सामग्रीमा क्षति पुगेको गाउँपालिकाको स्वास्थ्य तथा जिन्सी शाखा प्रमुख बसन्त राज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको प्रारम्भिक मूल्याङ्कनमा १० लाख रुपैयाँभन्दा बढी नोक्सानी भएको देखिएको छ ।

स्वास्थ्य केन्द्रका डाक्टर सन्तोष यादव हाल ४–५ दिनदेखि काठमाडौंमा तालिममा रहेको कारण घटनाका बेला केन्द्रमा उपस्थित नरहेको जनाइएको छ । गाउँपालिकाका अनुसार तोडफोडमा संलग्न व्यक्तिहरूले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए र अनियन्त्रित रूपमा स्वास्थ्य केन्द्रको कार्यालयभित्र प्रवेश गरी सम्पूर्ण सामग्री तोडफोड गरेका हुन् ।
घटनाका क्रममा रात्री सेवामा खटिएका स्वास्थ्यकर्मी सुतिरहेको कक्षमा समेत आक्रमण गरिएको बताइएको छ, जसका कारण स्वास्थ्यकर्मीको ज्यानसमेत जोखिममा परेको गाउँपालिकाले जनाएको छ । तोडफोडमा संलग्न सबै व्यक्तिहरूको पहिचान सिसी क्यामेरा फुटेजमार्फत भइसकेको र आज वार्ताका लागि बोलाइएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । तर वार्तामा समेत उनीहरू उपस्थित नभएकाले यस विषयमा गाउँपालिकामा छलफल भइरहेको र छिट्टै निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । आवश्यक परे कानुनी कारबाही प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।