मेलुङ गाउँपालिकाले एसईई नतिजा सुधार गर्ने उद्देश्यसहित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । ‘मिसन २०८२’ अन्तर्गत एसईईमा उल्लेख्य सुधार ल्याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको हो ।
गाउँपालिकाले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विगतको तुलनामा कम्तीमा ५० प्रतिशतले एसईई नतिजा सुधार गर्ने लक्ष्य लिएको मेलुङ गाउँपालिका–७ का वडाध्यक्ष तथा प्रवक्ता नवराज खड्काले जानकारी दिनुभयो । यस अभियान अन्तर्गत गाउँपालिकाभित्र रहेका ११ वटै विद्यालयमा कक्षा १० मा अध्ययनरत तथा एसईई तयारीमा जुटेका विद्यार्थीहरूका लागि नियमित कक्षाको अतिरिक्त बेलुका ६ बजेदेखि ९ बजेसम्म विज्ञान, गणित र अंग्रेजी विषयका प्रत्यक्ष अनलाइन कक्षा सञ्चालन भइरहेको छ । साथै, सबै विषयका भिडियो सामग्री, अध्ययन नोट तथा मोक टेस्टसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम घुन्सा फाउण्डेशनको सहकार्यमा सञ्चालन भइरहेको हो । फाउण्डेशनमार्फत देशभरका एसईई विद्यार्थीहरूका लागि ‘एम्बीशन गुरु’ अनलाइन सिकाइ प्लेटफर्ममा निःशुल्क पहुँच सुनिश्चित गरिएको छ । साथै, सामाजिक अभियन्ता याङजोम शेर्पाद्वारा विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश प्रदान गरिँदै आएको छ ।

घुन्सा फाउण्डेशनकी सञ्चालक शेर्पा मेलुङ गाउँपालिकामा उपस्थित भई कक्षा १० का विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो । शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएकी शेर्पा एक परिचित सामाजिक अभियन्ता हुनुहुन्छ । विश्व बैंकले सन् २०१८ मा उहाँलाई नेपालका ‘साहसी महिला’ मध्ये एकका रूपमा विशेष उल्लेख गरेको थियो । उहाँका सामाजिक योगदानहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता पाएका छन् ।
मेलुङमा आयोजित अन्तरक्रिया कार्यक्रममा शेर्पाले अनलाइन कक्षामा सहभागी हुने तरिका, प्रत्यक्ष कक्षा, भिडियो, नोट तथा मोक टेस्टको प्रयोग विधिबारे विद्यार्थीहरूलाई व्यवहारिक जानकारी दिनुभयो । साथै, आफ्ना जीवनका संघर्ष, अनुभव र सिकाइ साझा गर्दै लक्ष्य निर्धारण, निरन्तर मेहनत र आत्मविश्वासले नै सफलता हासिल गर्न सकिने प्रेरणादायी सन्देश दिनुभयो ।
यस कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङ, निरन्तर समन्वय र पहल गर्नु हुने वडा नं. २ का वडाध्यक्ष वसन्त लामा, सहभागी शिक्षक तथा विद्यार्थीहरूप्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ ।