जिरी नगरपालिका–२ यलुङमा अवस्थित बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीका लागि विद्यालय पुग्नु केवल पढाइको यात्रा होइन, दैनिक संघर्ष थियो । टाढाटाढाबाट आउने अधिकांश विद्यार्थी बिहान सबेरै उठेर उकालो–ओरालो, जङ्गलका बाटा र जोखिमपूर्ण गोरेटो पार गर्दै विद्यालय आइपुग्थे । कसैलाई दुई घण्टा त कसैलाई चार घण्टासम्म पैदल हिँड्नुपथ्र्यो । भारी झोला, चिसो मौसम, जङ्गली जनावरको डर र थकानले उनीहरूको पढाइमा प्रत्यक्ष असर पारिरहेको थियो ।

विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । २०१९ सालमा स्थापना भएको यस ऐतिहासिक विद्यालयमा अहिले २५७ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये धेरै विद्यार्थी टाढा गाउँबाट आउने भएकाले नियमित उपस्थिति, सिकाइ उपलब्धि र अतिरिक्त क्रियाकलापमा सहभागी हुन कठिनाइ झेलिरहेका थिए । बिहानै थकित भएर कक्षामा पुग्ने विद्यार्थी दिनभर सक्रिय रहन सक्दैनथे ।

हिजोको दुःख, आजको मुस्कान
अब भने त्यो पीडादायी यात्रा स्मृतिमा सीमित हुने संकेत देखिएको छ । स्कुल बस सञ्चालनमा आएसँगै विद्यार्थीको अनुहारमा उत्साह र आत्मविश्वास झल्किन थालेको छ । जिरी नगरपालिकाले २०८२ साल पुस २३ गते एक थान स्कुल बस प्राप्त गरेपछि बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीका लागि नयाँ अध्याय सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक आङबाबा शेर्पाका अनुसार लामो दूरी हिँड्नुपर्ने बाध्यताले विद्यार्थीको नतिजामा समेत नकारात्मक प्रभाव पारिरहेको थियो । “नासाको एक रिपोर्टअनुसार १५ मिनेटभन्दा कम दूरी हिँड्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो हुन्छ,” उनले भने, “अब विद्यार्थीले हिँडेर थकान बोक्नु पर्दैन, त्यो समय पढाइ, खेलकुद र सिर्जनात्मक क्रियाकलापमा खर्चिन पाउनेछन् ।” विशेष गरी एसईई परीक्षाका बेला विद्यार्थीलाई हप्तौसम्म जिरी बजारमा राख्नुपर्दा अभिभावकमाथि थप आर्थिक भार पर्ने गरेको थियो । बसको सुविधाले अब त्यो समस्या पनि धेरै हदसम्म समाधान हुने विद्यालयको विश्वास छ ।

अभिभावकका आँखामा ढुक्कपन
विद्यार्थी मात्र होइन, अभिभावकको मनमा पनि ठूलो राहत मिलेको छ । जिरी–२ ओख्रेनीकी ३० वर्षीया पार्वती खत्री स्कुल बस देखेर भावुक हुन्छिन् । उनका छोरा राजु खत्री केही समयअघि मोटरसाइकल दुर्घटनामा परेपछि राम्रोसँग हिँड्न सक्दैनन् ।
“छोरालाई स्कुल आउन–जान चार घण्टासम्म लाग्थ्यो,” उनी भन्छिन्, “आज स्कुल बस देख्दा मनै खुशी भयो, अब उसलाई सजिलो हुने भयो ।” यस्तै, जिरी–१ राबुकी ४१ वर्षीया रेनुका बुढाथोकीको चिन्ता पनि कम भएको छ । उनकी छोरी ५ केजीसम्मको झोला बोकेर दुई घण्टा जङ्गलको बाटो हुँदै विद्यालय पुग्थिन् । “सधैँ बाघ–भालुको डर लागिरहन्थ्यो,” उनले सुनाइन्, “अब बस आएपछि हामी सबै ढुक्क भएका छौँ ।”

कल्स ओवर रिजेज नेपालको निरन्तर साथ
यो परिवर्तन सम्भव बनाएको हो कल्स ओवर रिजेज नेपाल (कोर्न) नामक संस्थाले । सन् २०७४ मा स्थापना भएको यो संस्थाले निरक्षरता न्यूनीकरण र प्रत्येक बालबालिकाको विद्यालय शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित काम गर्दै आएको छ । जिरी नगरपालिकासँगको समन्वयमा कोर्नले बौद्ध भुवनेश्वरी माध्यमिक विद्यालयका लागि विद्यालय बस हस्तान्तरण गरेको हो । कोर्नले छात्रवृत्ति कार्यक्रम, विद्यालय बस सञ्चालन, दिवा खाजा कार्यक्रम, पुस्तकालय स्थापना, शिक्षक तालिम र साक्षरता अभिवृद्धि कार्यक्रममार्फत सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योगदान दिँदै आएको छ । सन् २०७४ मा ४९ जना विद्यार्थीबाट सुरु भएको छात्रवृत्ति कार्यक्रम सन् २०८० सम्म आइपुग्दा १६० जनामा विस्तार भएको छ । तीन विद्यालयबाट सुरु भएको दिवा खाजा कार्यक्रम अहिले तीन स्थानीय तहका ३० भन्दा बढी विद्यालयमा फैलिएको छ । हालसम्म संस्थाले ६ हजार ८६४ विद्यार्थी, ३८ विद्यालय तथा सिकाइ केन्द्रसँग काम गरिसकेको छ । कोर्नकी फाउण्डर साङडोमा शेर्पाका अनुसार, “सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने लक्ष्यसहित हामी स्थानीय तह र समुदायसँग सहकार्य गर्दै अघि बढिरहेका छौँ ।”
तस्बिरहरुः नविन सुनुवार