विद्यालयमा दिवा खाजालाई थप पौष्टिक बनाउने उद्देश्यले गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा अवस्थित मानेडाँडा माध्यमिक विद्यालयलाई घीउ र छुर्पी सहयोग प्राप्त भएको छ । चुनडाँडा चौरीपालन फर्मले चार हजार चार सय रुपैयाँ बराबरको घीउ र छुर्पी विद्यालयलाई उपलब्ध गराएको हो ।
झ्याँकुबाट सुरु भएको यो अभियान हाल गाउँपालिकाका सबै वडामा विस्तार भइसकेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालन अनुदानलाई विद्यालयका बालबालिकाको पोषणसँग जोड्दै उक्त सामग्री हस्तान्तरण गरिएको गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुुभयो ।
उहाँका अनुसार, चुनडाँडा चौरीपालन फर्मले मानेडाँडा माध्यमिक विद्यालयलाई चार हजार चार सय रुपैयाँ बराबरको घीउ र छुर्पी उपलब्ध गराएको हो । त्यस्तै, स्थानीय किसान डोपछिरि शेर्पाले गोर्पाङ आधारभूत विद्यालयलाई चार हजार रुपैयाँ बराबरको दूध र छुर्पी सहयोग गर्नुभएको छ ।
गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रका अनुदान कार्यक्रमलाई विद्यालयको दिवा खाजासँग जोड्ने नयाँ नीति लागू गरेको छ । यस नीतिअनुसार अब स्थानीय किसान तथा कृषि–पशुपालन फर्मले पाउने अनुदानको २ प्रतिशत बराबरको कृषि वा पशुजन्य सामग्री अनिवार्य रूपमा नजिकको विद्यालयको दिवा खाजाका लागि उपलब्ध गराउनुपर्नेछ ।
अनुदानको सो २ प्रतिशत रकम अनुदानभित्रै समायोजन गरिने भएकाले कृषकलाई अतिरिक्त आर्थिक भार नपर्ने गरी कार्यक्रम कार्यान्वयन गरिएको प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले स्पष्ट पार्नुभयो । साथै, अनुदान भुक्तानी प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन किसानले विद्यालयमा सामग्री बुझाएको फोटो र सिफारिस पेस गरेपछि मात्र भुक्तानी दिने व्यवस्था गरिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षदेखि कृषि तथा पशुपालनसम्बन्धी सबै अनुदान कार्यक्रमहरूमा यो व्यवस्था अनिवार्य रूपमा लागू गरेको हो । यस नीतिले विद्यालयका बालबालिकाले दैनिक पाउने दिवा खाजामा ताजा र पोषिलो सामग्री सुनिश्चित गर्नुका साथै स्थानीय उत्पादनलाई गाउँमै स्थायी बजार उपलब्ध गराउने उद्देश्य लिएको गाउँपालिकाले जनाएको छ ।