शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन सम्बन्धी इमिस सफ्टवेयर क्षमता विकास तालिम सम्पन्न भएको छ । गौरीशंकर गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित दुई दिने तालिम आज सम्पन्न भएको हो ।

विद्यालयको शैक्षिक तथ्यांक व्यवस्थापन, अभिलेखीकरण तथा विद्यालय सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत भीमसेन बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमले विद्यालय प्रशासनलाई प्रविधिमैत्री, व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिममा स्रोत शिक्षक तथा विद्यालयका कर्मचारीहरू सहभागी भएका थिए । सहभागीहरूलाई इमिस प्रणालीमार्फत विद्यार्थी विवरण, शिक्षक अभिलेख, शैक्षिक प्रगति विवरण, भौतिक पूर्वाधारलगायतका तथ्यांक व्यवस्थित ढंगले अद्यावधिक गर्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो ।
तालिममा निलकण्ठ नगरपालिकाका अनुभवी शिक्षक तथा प्रशिक्षक नारायण खत्रीले सहजीकरण गर्नुभएको थियो । उहाँले इमिस प्रणालीको प्रयोगले विद्यालयको योजना निर्माण, अनुगमन तथा प्रतिवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरूको सक्रिय सहभागिता रहेको उक्त तालिमले शैक्षिक प्रशासनलाई डिजिटल प्रणालीमा अभ्यस्त बनाउँदै सेवा प्रवाहलाई छरितो र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।