दोलखाको गौरीशंकर गाउँपालिकाले लोपोन्मुख रैथाने बालीको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले तीन दिने विशेष मेला आयोजना गरेको छ । परम्परागत रूपमा सहज रूपमा पाइने स्थानीय बालीहरू पछिल्लो समय हराउँदै जान थालेपछि संरक्षण अभियानकै रूपमा मेला सञ्चालन गरिएको हो ।
आधुनिक कृषि प्रविधिको तीव्र प्रयोग, रासायनिक विषादीको अत्यधिक प्रयोग तथा जीवनशैलीमा आएको परिवर्तनका कारण रैथाने बाली क्रमशः लोप हुँदै गएको छ । यस्ता बालीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भावी पुस्ताका लागि स्थानीय बीउ–बाली जोगाउनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार विगतमा गाउँपालिकाभित्र विभिन्न प्रकारका खाद्यान्न, फलफूल तथा तरकारी प्रशस्त उत्पादन हुने गर्थे । तर पछिल्लो समय तीमध्ये धेरै बाली हराउने अवस्थामा पुगेपछि समुदायमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । गाउँपालिकाका सबै वडाबाट फरक–फरक किसिमका अन्नबाली, तरकारी र फलफूल उत्पादन हुने भएकाले ती बालीको पहिचान र संरक्षणमा जोड दिँदै मेलामा प्रत्येक वडाका छुट्टाछुट्टै स्टल राखिएका छन् । स्टलहरूमा गहुँ, कोदो, फापर, उवा, जौ, मुसुरो जस्ता परम्परागत बालीसँगै स्थानीय स्तरमा पाइने विभिन्न जातका तरकारी र फलफूल प्रदर्शनमा राखिएका छन् ।
यसका अतिरिक्त, लोप हुने जोखिममा रहेका केही महत्वपूर्ण रैथाने बालीहरू पनि मेलामा समेटिएका छन्, जस्तै—कागुनो (फोक्सो धान), चिनो, लट्टे, गहत (कुल्थी), मास (कालो भटमास), सिमीका पुराना जात, तितो फापर, घिउँ कोदो लगायतका बालीहरू । मेलामा राखिएका स्टलहरूको मूल्यांकन गरी उत्कृष्ट स्टललाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। मेला बैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रम गाउँपालिका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो भने जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा कृषि विज्ञ टिका बहादुर खत्री, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष उमा लुङगेली मगर शेर्पा, पूर्वअध्यक्ष सोयम बहादुर खड्का, नेकपा एमालेका नेता जंग बहादुर गुरुङ तथा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले रैथाने बाली संरक्षणको आवश्यकता र चुनौतीबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।