दोलखाको पर्यटन, कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यसहित ‘तामाकोशी सललल’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । जिल्लाका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर तयार पारिएको भिडियोले दोलखाको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
पत्रकार तथा गीतकार बिबि फुँयालका अनुसार भिडियो दोलखाका विभिन्न रमणीय स्थलमा पुगेर छायाङ्कन गरिएको हो । विशेषगरी कालिञ्चोक, तामाकोसी क्षेत्र, बैतेश्वर र जिरी आसपासका पर्यटकीय गन्तव्यलाई केन्द्रमा राखेर दृश्यहरू कैद गरिएको उहाँले बताउनुभयो ।
भिडियोमा कालिञ्चोक, किराँतीछाप, तामाकोसी, बैतेश्वर, खावा बजार आसपास, राम्बोले मन्दिर, बजेनी, जिरी मावि, लिंकन बजार, चेर्दुङ, जिरी विमानस्थल, ठोसे, श्यामा, खरिढुंगा तथा चौँरीगोठ लगायतका स्थानको मनमोहक दृश्य समेटिएको छ ।
गीतकार फुँयालले जिरी दोलखाको प्रमुख पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यसको प्रभावकारी प्रचार–प्रसार हुन सके सिंगो जिल्लाकै पर्यटन क्षेत्र चलायमान बन्ने विश्वास व्यक्त गर्नुभयो । “दोलखाको पहिचान, संस्कृति र प्राकृतिक सौन्दर्यलाई संगीतमार्फत विश्वसामु चिनाउने उद्देश्यले यो प्रयास गरेका हौं,” उहाँले भन्नुभयो ।
गीतमा कलाकार बद्री प्रसाद तिवारी, शोल गुरुङ, गायक कल्याण सिंह र गायिका सुनिता थेगिमको प्रस्तुति रहेको छ । स्थानीय व्यवस्थापक नविन सुनुवारका अनुसार गीत–संगीतको माध्यमबाट दोलखाको सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउने लक्ष्य राखिएको छ ।
पछिल्लो समय पर्यटन प्रवद्र्धनमा म्युजिक भिडियो प्रभावकारी माध्यम बन्दै गएको छ । आकर्षक दृश्य, स्थानीय संस्कृति, भेषभूषा र प्राकृतिक सम्पदालाई एउटै फ्रेममा प्रस्तुत गर्न सकिने भएकाले यस्ता सिर्जनाले आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्य खोज्न प्रेरित गर्ने विश्वास गरिएको छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत लाखौं दर्शकमाझ पुग्ने भएकाले यस्ता गीत–संगीतले पर्यटन बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।
‘तामाकोशी सललल’ गीतले दोलखाको पर्यटन, संस्कृति र स्थानीय जीवनशैलीलाई अझ व्यापक रूपमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । गीतको औपचारिक लोकार्पण छिट्टै जिरीमा गरिने गीतकार फुँयालले जानकारी दिनुभयो ।