दोलखाको गौरीशंकर गाउँपालिका–३ र ४ स्थित झ्याँकुमा विश्व वातावरण दिवसको अवसर पारेर २ हजार ६ सय वटा एवोकाडोका बिरुवा वितरण गरिएको छ । स्थानीय बासिन्दालाई उत्पादनमुखी कृषि तथा वातावरण संरक्षणसँग जोड्ने उद्देश्यले बिरुवा वितरण गरिएको हो ।

गौरीशंकर गाउँपालिका र डिभिजन वन कार्यालय दोलखाको सहयोग, रिभोलुसनरी एग्रीकल्चर वार (र) को प्रवद्र्धन तथा हाम्रो बगैँचा नर्सरी फलफूल तथा जडीबुटी बहुउद्देश्यीय अनुसन्धान केन्द्रको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अनुसन्धान केन्द्रका सञ्चालक जंगबहादुर गुरुङका अनुसार झ्याँकुका सर्सेपु, डिकार्पु, यार्सा, गोर्पाङ र ज्याङबारिङका ५ सय २० घरधुरीलाई बिरुवा वितरण गरिएको छ । प्रत्येक घरधुरीलाई गाउँपालिकाको तर्फबाट तीन र अनुसन्धान केन्द्रको तर्फबाट दुई गरी पाँच वटा एवोकाडोका बिरुवा उपलब्ध गराइएको उनले बताए ।
गुरुङले “अब युवा खाडीमा होइन, बारीमा” भन्ने नारासहित स्थानीयलाई कृषि उत्पादनतर्फ आकर्षित गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार एवोकाडो खेतीले भविष्यमा राम्रो आम्दानी दिन सक्ने भएकाले गाउँबासीलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गरिएको हो ।
कार्यक्रमअन्तर्गत झ्याँकुका स्थानीयबासीसँगै वडा नं. ३ र ४ का वडा कार्यालयलाई समेत बिरुवा प्रदान गरिएको थियो । यस अभियानमा च्छोरोल्पा कन्स्ट्रक्सन कम्पनीका सञ्चालक फुरलाक्पा शेर्पाले पनि एक सय वटा बिरुवा सहयोग गरेका थिए ।
बिरुवा वितरण कार्यक्रम अनुसन्धान केन्द्रका सञ्चालक जंगबहादुर गुरुङको अध्यक्षता तथा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी, रिभोलुसनरी एग्रीकल्चर वार (आर) का निर्देशक शैलेश कडेल तथा वडा अध्यक्षहरू युगबहादुर बस्नेत र शिवहरि खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा एवोकाडो खेतीलाई थप प्रोत्साहन गर्न फल दिन सुरु गरेपछि सबैभन्दा बढी उत्पादन गर्ने किसान वा संस्थालाई गाउँपालिका र अनुसन्धान केन्द्रको तर्फबाट संयुक्त रूपमा १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा पनि गरिएको छ ।
उल्लेखनीय रूपमा, अनुसन्धान केन्द्रका सञ्चालक गुरुङले गत वर्ष पनि झ्याँकुका स्थानीयलाई कफीका बिरुवा वितरण गरेका थिए । यस पटकको एवोकाडो अभियानले स्थानीय कृषिमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ ।