विश्व वातावरण दिवस (जुन ५) को अवसरमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना र गौरीशंकर गाउँपालिकाको संयुक्त आयोजनामा छ्योतछ्योतदेखि च्छोरोल्पासम्मको पदमार्ग सरसफाई अभियान सुरु गरिएको छ । पर्यटकीय पदयात्रालाई थप सुरक्षित, स्वच्छ र आकर्षक बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हो ।

गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति लामाबगर अन्तर्गतको छ्योतछ्योत क्षेत्रबाट अभियानको औपचारिक शुभारम्भ गरिएको हो । अभियानमा गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पा, संरक्षण व्यवस्थापन समिति लामाबगरका सचिव यादवप्रसाद आचार्य, रोल्वालिङ हाइड्रोपावरका आयोजना प्रमुख शिवराम केसी, गाउँपालिका तथा संरक्षण क्षेत्र आयोजनाका कर्मचारी, स्थानीय बासिन्दा तथा स्वयंसेवकहरूको सहभागिता रहेको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका कर्मचारी विकास कुमार थापाका अनुसार अभियानअन्तर्गत पदमार्गका विभिन्न स्थानमा फोहोर संकलनका लागि डस्टबिन राखिनेछ । संकलित फोहोर गाउँपालिकाले नियमित रूपमा व्यवस्थापन गर्ने सहमति भएको छ । साथै, पदमार्ग आसपासका क्षेत्रमा वृक्षरोपण कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
वडाध्यक्ष शेर्पाले अभियानमा खटिने स्वयंसेवकहरूलाई फोहोर संकलनका लागि आवश्यक सामग्री तथा पोसाक वितरण गर्नुभएको थियो । सरसफाई अभियानलाई सफल बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । अभियान टोली प्रस्थान गर्नुअघि आयोजना प्रमुख सन्तोष शेरचनले सहभागीहरूलाई शुभकामना व्यक्त गर्दै अभियानले रोल्वालिङ क्षेत्रको प्राकृतिक सौन्दर्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने छ्योतछ्योत–च्छोरोल्पा पदमार्गमा सरसफाई अभियान सञ्चालन भएपछि पदयात्री तथा आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रा गर्न थप सहज हुने अपेक्षा गरिएको छ । स्वच्छ पदमार्ग, व्यवस्थित फोहोर व्यवस्थापन र हरियाली प्रवद्र्धनले पर्यटकलाई सकारात्मक सन्देश दिनुका साथै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । स्थानीयवासीले पनि स्वच्छ वातावरणले क्षेत्रको आकर्षण बढाएर पर्यटकको बसाइ अवधि र आगमन संख्या वृद्धि गर्न सहयोग पुग्ने बताएका छन् ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र प्रसिद्ध च्छोरोल्पा हिमतालको गन्तव्यका रूपमा परिचित यस पदमार्गलाई स्वच्छ र वातावरणमैत्री बनाउने अभियानले दीगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।