गौरीशंकर गाउँपालिका–९ स्थित टासिनाम आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । वडा नं. ९ गौरीशंकरको पहल तथा सिप्रिङ खोला जलविद्युत आयोजनाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो ।
विद्यालयलाई दुई थान इन्भर्टर, चार थान पुसपिन बोर्ड र एक थान लेमिनेसन मेसिन हस्तान्तरण गरिएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन सामग्री उपलब्ध गराइएको जनाइएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रम टासिनाम आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर मगरको अध्यक्षता तथा गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिप्रिङ खोला जलविद्युत आयोजनाका प्लान्ट म्यानेजर विवेक लकान्द्री, पब्लिक कोर्डिनेटर यादवप्रसाद आचार्य, वडा नं. ८ स्थित खारे माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सानुराजा शेर्पा, टासिनाम आधारभूत विद्यालयका प्रधानाध्यापक मदनकुमार श्रेष्ठलगायत शिक्षक, कर्मचारी, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि सरकारी निकाय, निजी क्षेत्र तथा स्थानीय समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।