जिरी नगरपालिका–८ र ९ को सिमानामा रहेको सल्लेफेदीमा निर्माण गरिएको ट्रष्ट पुल स्थानीयका लागि महत्वपूर्ण पूर्वाधार बनेको छ । पुल सञ्चालनमा आएपछि दैनिक २५ जनाभन्दा बढी स्थानीय, विद्यार्थी तथा तीर्थयात्रीले यसको प्रयोग गर्दै आएका छन् ।
यस क्षेत्रका बासिन्दाले एक गाउँबाट अर्को गाउँ पुग्न दुई वटा खोला पार गर्नुपर्ने बाध्यता थियो । विशेषगरी वर्षायाममा खोला बढ्दा काठे पुल वा साँघुको भरमा आवतजावत गर्न निकै जोखिमपूर्ण हुने गरेको थियो । पुल नहुँदा विद्यार्थी, ज्येष्ठ नागरिक तथा बिरामीलाई आवतजावतमा ठूलो समस्या पर्ने गरेको स्थानीय बताउँछन् ।
जिरी नगरपालिका–९ का वडाध्यक्ष ज्ञानु पाख्रीनका अनुसार बाहिरबाट हेर्दा आकर्षक र नौलो देखिने उक्त ट्रष्ट पुल २०८१ सालमा निर्माण सम्पन्न भएको हो । “पहिले काठे पुल वा साँघुको भरमा खोला तर्नुपथ्र्यो । वर्षायाममा चिप्लिने र लड्ने डर हुन्थ्यो । अहिले पुल बनेपछि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सुरक्षित र सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन्,” उहाँले बताउनुभयो ।
पुलले स्थानीयको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । विद्यालय जाने विद्यार्थीलाई वर्षायाममा पनि नियमित रूपमा विद्यालय पुग्न सहज भएको छ भने खेतीपाती, पशुपालन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न पनि सुविधा पुगेको छ । आकस्मिक बिरामी पर्दा स्वास्थ्य संस्थासम्म पुग्न सहज भएको स्थानीयको अनुभव छ ।
यस पुलको प्रयोग गरी अहिले पनि तामाकोशी गाउँपालिकाका झुले र जफे क्षेत्रका भक्तजनहरू राम्बोले मन्दिर दर्शन गर्न आउने गरेका छन् । साथै, नजिकै रहेको ठूलोपातल माध्यमिक विद्यालयका विद्यार्थीहरू नियमित रूपमा यही पुल भएर आवतजावत गर्छन् ।
करिब ३६ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल जिरी नगरपालिका र वडाको पहलमा निर्माण गरिएको हो । निर्माण कार्यमा स्थानीयवासीको श्रमदानसमेत रहेको वडाध्यक्ष पाख्रीनले जानकारी दिनुभयो ।
सल्लेफेदी क्षेत्रमा ट्रष्ट प्रविधिबाट निर्माण गरिएका पुलमध्ये यो एक हो । यसअघि फुल्पिङ, सिस्ने ओढार र भीरखर्कमा यस्तै प्रकृतिका पुल निर्माण भइसकेका छन् । सल्लेफेदी लगायत यस क्षेत्रमा करिब तीन सय घरधुरीको बसोबास रहेको छ ।
स्थानीय तहले सडक निर्माण गरे पनि नियमित यातायात सञ्चालन हुन नसकेको अवस्थामा यो पुल अझै पनि भरपर्दो विकल्प बनेको छ । विगतमा रामेछापका सैपुसाप्रा, खोलाखर्क, बिरौटा, रस्नालु, फुल्पिङ तथा ओखलढुंगाको खिचीफलाटे क्षेत्रका नागरिक यही बाटो हुँदै मुदिमिर्गे–किरातीछाप भएर मुडेसम्म आवतजावत गर्ने गर्दथे । अहिले पनि सडकमा सवारीसाधन सञ्चालन नभएका बेला यही पदमार्ग र पुल स्थानीयको प्रमुख सहारा बन्ने गरेको छ ।
स्थानीयवासीका अनुसार सल्लेफेदीको ट्रष्ट पुलले केवल खोला वारपार गर्ने सुविधा मात्र दिएको छैन, गाउँ–गाउँबीचको सम्बन्ध बलियो बनाउनुका साथै शिक्षा, स्वास्थ्य, धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई समेत टेवा पु¥याएको छ । सुरक्षित आवतजावतको माध्यम बनेको यो पुल ग्रामीण पूर्वाधार विकासको सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ ।