गौरीशंकर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन आजबाट सुरु भएको छ । अधिवेशनको उद्घाटनसँगै पालिकास्तरीय उत्कृष्ट स्वास्थ्य संस्था छनोट तथा सम्मान कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष उमालुङ्गेली मगर शेर्पा, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न विषयगत समितिका पदाधिकारी, शाखा प्रमुख, कर्मचारी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि गाउँपालिकाले अवलम्बन गर्ने नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले जानकारी दिनुभयो । प्रस्तुत नीति तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरूले विभिन्न रचनात्मक सुझाव, सल्लाह तथा टिप्पणी दिएका थिए ।
गाउँपालिकाको समग्र विकास, सुशासन प्रवद्र्धन, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर तयार पारिएका कार्यक्रमबारे विस्तृत छलफल भएको थियो । अधिवेशनमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, खानेपानी, सरसफाइ, सूचना तथा सञ्चार प्रविधि, विपद् व्यवस्थापन, रोजगार प्रवद्र्धन, महिला तथा बालबालिका विकास, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, वातावरण संरक्षण, वन तथा जलाधार व्यवस्थापन, सडक तथा पुल पूर्वाधार तथा संस्थागत क्षमता विकासलगायतका क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
आगामी आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रमबारे विस्तृत समीक्षा र छलफल गरिएको गाउँपालिकाले जनाएको छ । साथै, गत आर्थिक वर्षमा हासिल भएका उपलब्धि, सम्पन्न विकास निर्माणका कार्य, सामाजिक तथा आर्थिक क्षेत्रमा देखिएका सकारात्मक परिवर्तन तथा आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीबारे पनि समीक्षा गरिएको थियो ।
गाउँपालिकाले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने तथा समावेशी र दिगो विकासलाई प्राथमिकता दिने उद्देश्यका साथ आगामी वर्षका योजना तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ ।
अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि प्राप्त सुझावलाई समेट्दै आगामी गाउँसभाबाट पारित गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।