दोलखाको जिरी नगरपालिका–६ स्थित शहीद स्मृति आवासीय माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेपछि त्यसमा योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरेको छ ।

विद्यालयले कक्षा ८ (बीएलई) परीक्षामा जिरी नगरपालिकाभित्र प्रथम, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नगरस्तरीय द्वितीय तथा कक्षा १२ (एनईबी) परीक्षामा दोलखा जिल्लामै प्रथम नतिजा हासिल गरेको अवसरमा शिक्षकहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा प्रधानाध्यापक केन्द्रज्योति खड्का, शिक्षकहरू निर्मला शाही, लक्ष्मी दाहाल, भीमबहादुर रोकाय, सिताराम दाहाल, मनमाया तामाङ र देवी बस्नेत रहेका छन् । त्यसैगरी, विद्यालयका उत्कृष्ट शिक्षक भूपेन्द्र साउद तथा उत्कृष्ट कर्मचारी दोर्जी शेर्पालाई पनि सम्मान गरिएको छ ।
यस अवसरमा विद्यालयले शैक्षिक वर्ष २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई समेत सम्मान गर्नुका साथै नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम आयोजना गरेको प्रधानाध्यापक खड्काले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष ङिमपल्दे शेर्पाको अध्यक्षता तथा जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका नगर प्रमुख जिरेलले विद्यालयले निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिरीको शैक्षिक प्रतिष्ठा उकास्न महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयले अझ उत्कृष्ट उपलब्धि हासिल गर्दै जिल्लाकै नमुना शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।