दोलखाको प्रसिद्ध पर्यटकीय गन्तव्य च्छोरोल्पा हिमताल जाने पदमार्गमा फलाम र काठको साँघु निर्माण सम्पन्न भएको छ । वर्षेनी पहिरो र बाढीका कारण पक्की तथा अस्थायी पुल र साँघु बग्ने समस्या दोहोरिँदै आएपछि यस पटक दीर्घकालीन समाधानका रूपमा फलामे साँघु निर्माण गरिएको हो ।
स्वदेशी तथा विदेशी पर्यटकहरू वर्षभरि नै रोल्वालिङ उपत्यका भ्रमण गर्ने भएकाले सुरक्षित र सहज आवतजावत सुनिश्चित गर्न काठ र फलामे साँघु निर्माण गरिएको गौरीशंकर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छ्योतछ्योतदेखि च्छोरोल्पा हिमताल जाने पदमार्गअन्तर्गत उत्तीसे खोलामा फलामे साँघु निर्माण गरिएको हो । यसका साथै वर्षायाममा बाढीको उच्च जोखिम रहने उत्तीसे खोला, सिमीगाउँलगायत विभिन्न स्थानमा पाँच वटा काठका र पाँच वटा फलामे साँघु निर्माण गरिएको छ । वडाध्यक्ष शेर्पाका अनुसार उक्त साँघुहरू स्थानीय जलविद्युत् आयोजनाको सहयोग तथा वडा कार्यालयको पहलमा निर्माण गरिएको हो । नयाँ संरचनाले पदमार्गलाई थप सुरक्षित, भरपर्दो र वर्षभर सञ्चालनयोग्य बनाएको उहाँले बताउनुभयो ।
काठ तथा फलामे साँघु निर्माणसँगै च्छोरोल्पा हिमताल पुग्ने पदयात्री तथा पर्यटकले वर्षायाममा पनि सहज र सुरक्षित रूपमा यात्रा गर्न सक्ने भएका छन् । यसअघि बाढीले साँघु बगाउँदा पदयात्रा अवरुद्ध हुने, पर्यटक बीच बाटोमै फर्किनुपर्ने तथा स्थानीय बासिन्दाले समेत सास्ती भोग्नुपर्ने अवस्था थियो ।
पर्यटन व्यवसायीका अनुसार सुरक्षित पदमार्ग र बलियो पूर्वाधारले च्छोरोल्पा क्षेत्रप्रति पर्यटकको विश्वास अझ बढ्ने, पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्ने तथा रोल्वालिङ उपत्यकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यसबाट स्थानीय होटल, होमस्टे, पथप्रदर्शक (गाइड), भरिया तथा अन्य पर्यटन व्यवसायमा संलग्न समुदायले प्रत्यक्ष लाभ पाउने विश्वास गरिएको छ ।