पहिरो, आगलागी तथा अन्य प्राकृतिक विपद्का कारण घर पूर्ण रूपमा क्षति भई बस्नै नमिल्ने अवस्थामा पुगेका परिवारलाई घर पुनर्निर्माणका लागि गौरीशंकर गाउँपालिकाले प्रतिघरधुरी ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । स्थानीय तहबाट घर पुनर्निर्माणका लागि यसरी प्रत्यक्ष आर्थिक सहयोग गर्ने निर्णय दोलखा जिल्लामै सम्भवत पहिलो मानिएको छ ।

गाउँपालिकाले साउन ५ गते राति परेको अविरल वर्षापछि गएको पहिरोबाट प्रभावित परिवारलाई ३ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । पहिरोका कारण गौरीशंकर गाउँपालिका–८ खारेको लोङाटा र वडा नं. ९ को टासीनाम क्षेत्रमा २० भन्दा बढी घरमा क्षति पुगेको छ । तीमध्ये बस्नै नमिल्ने गरी पूर्ण क्षति भएका घरधुरीलाई क्षतिको विवरण संकलनपछि प्रतिघरधुरी ३ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीका अनुसार स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले विपद्का बेला नागरिकलाई पुनः सुरक्षित आवासमा स्थापित गर्नु आफ्नो दायित्व हो । त्यसैअनुसार गाउँ कार्यपालिकाले घर पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
प्रारम्भिक विवरणअनुसार लोङाटामा करिब पाँच र टासीनाममा १५ भन्दा बढी घर पहिरोबाट प्रभावित भएका छन् । अध्यक्ष कार्कीसहित सम्बन्धित वडा अध्यक्ष तथा गाउँपालिकाका कर्मचारीहरूले प्रभावित बस्तीको स्थलगत निरीक्षण गरी वास्तविक अवस्था बुझेका छन् । प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा पुनस्र्थापना र पुनर्निर्माणको प्रक्रिया अघि बढाइने जनाइएको छ । हाल अधिकांश पहिरोपीडित परिवार आफन्त र छिमेकीको आश्रयमा बसिरहेका छन् ।
साउन ५ गते राति परेको अविरल वर्षापछि टासीनामसहित उच्च जोखिममा रहेका बस्तीको गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष तथा विभिन्न शाखाका प्रमुखहरूले संयुक्त अनुगमन गरेका थिए । अनुगमनका क्रममा प्रभावित परिवारको विवरण, क्षतिको यथार्थ अवस्था र पुनर्निर्माणका लागि आवश्यक लागत संकलनको काम समेत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
भौगोलिक रूपमा अत्यन्त जोखिमयुक्त मानिने गौरीशंकर गाउँपालिका वर्षायाममा पहिरो, बाढी र भूक्षयको उच्च जोखिममा पर्ने क्षेत्र हो । विशेषगरी जलविद्युत आयोजनाहरुले ब्लाष्टिङ गर्दा र सडक निर्माण गर्दा भू–भाग थर्केर कमजोर भएकाले पनि पहिरो गएको वडा नं. ९ का अध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो । जसले गर्दा भू–बनोट र निरन्तर वर्षाका कारण यहाँका विभिन्न बस्ती वर्षेनी पहिरोको जोखिममा पर्ने गरेका छन् । यस वर्ष पनि निरन्तरको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी रहेकाले गाउँपालिकाले जोखिमयुक्त बस्तीका नागरिकलाई सतर्क रहन, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा विपद्सम्बन्धी सूचना र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ ।