वन्यजन्तुले परम्परागत खेतीमा निरन्तर क्षति पु¥याइरहेका बेला दोलखाको गौरीशंकर गाउँपालिका–९ टासिनामका किसानले स्याउ खेतीलाई वैकल्पिक आम्दानीको माध्यमका रूपमा अपनाउन थालेका छन् । कम मिहिनेत, तुलनात्मक रूपमा कम जोखिम र केही वर्षपछि नियमित आम्दानी लिन सकिने सम्भावना देखेपछि स्थानीय किसान स्याउ खेतीतर्फ आकर्षित भएका हुन् ।
हाल टासिनामका ७ घरधुरी किसानले व्यावसायिक रूपमा स्याउ खेती सुरु गरेका छन् । मानेडाँडाका ३ घरधुरी तथा चौरटोल, बगङ, यार्सा र ज्याङमाका एक–एक घरधुरीले स्याउका बिरुवा रोपेका छन् ।
स्थानीय किसान छङबुटी शेर्पाका अनुसार आफूले १२ वटा स्याउका बिरुवा रोपे पनि हाल ८ वटा मात्र बाँकी छन् । गत वर्षदेखि केही बोटमा फल लाग्न थालेको उहाँले बताउनुभयो । “स्याउका बोट राम्रोसँग हुर्किएका छन् । फूल पनि राम्रै फुल्छ, तर फल लाग्ने क्रममा धेरै चिचिलामै झर्ने समस्या छ,“ उहाँले भन्नुभयो ।

टासिनामकै अर्का किसान नाम्गेल शेर्पाले १५० वटा स्याउका बिरुवा रोपेर व्यावसायिक खेती सुरु गर्नुभएको छ । अन्य किसानले पनि १० भन्दा बढी बिरुवा रोपेका छन् । उचित प्राविधिक सहयोग, मलजल र रोग–कीरा व्यवस्थापन गर्न सके उत्पादन अझ राम्रो हुने किसानको अपेक्षा छ ।
स्थानीयका अनुसार स्याउ खेतीको सबैभन्दा ठूलो विशेषता भनेको वन्यजन्तुले खासै नोक्सानी नगर्नु हो । यस क्षेत्रमा मिर्ग, दुम्सी, बाँदर र कालिजले मकै, आलु, कोदो, गहुँ तथा अन्य खाद्यान्न बालीमा हरेक वर्ष ठूलो क्षति पु¥याउने गरेका छन् । तर स्याउका बोट र फलमा वन्यजन्तुको आकर्षण कम भएकाले यो खेती सुरक्षित विकल्पका रूपमा देखिएको छ । किसान छङबुटी शेर्पाले भन्नुभयो, “अन्य खेती गर्दा वन्यजन्तुले सबै नष्ट गरिदिन्छन् । स्याउ भने उनीहरूले खासै नखाने भएकाले यसबाट राम्रो आम्दानी लिन सकिने आशा गरेका छौ ं।“
उच्च पहाडी क्षेत्रमा चिसो हावापानी, पर्याप्त घाम र उपयुक्त उचाइ भएकाले टासिनाम स्याउ उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र मानिन्छ । कृषि विज्ञहरूका अनुसार स्थानीय हावापानी सुहाउँदा गुणस्तरीय स्याउ उत्पादन गर्न सकिन्छ । यसले किसानको आयआर्जन मात्र होइन, स्थानीय रोजगारी सिर्जना, बाँझो जमिनको उपयोग तथा कृषि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्न सक्ने गौरीशंकर गाउँपालिका–९ का वडाअध्यक्ष ङिमगेली शेर्पाले बताउनुुभयो । ग्रामीण भेगमा युवाहरू रोजगारीका लागि गाउँ छोड्ने क्रम बढिरहेका बेला स्याउजस्ता नगदे फलफूल खेतीले गाउँमै आम्दानीको अवसर सिर्जना गर्न सक्ने वडाअध्यक्ष शेर्पाले बताउनुुभयो । स्थानीय सरकारले प्राविधिक सहयोग, गुणस्तरीय बिरुवा, सिँचाइ तथा बजार व्यवस्थापनमा सहयोग गर्न सके टासिनाम भविष्यमा दोलखाकै प्रमुख स्याउ उत्पादन क्षेत्रका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ ।