गौरीशंकर गाउँपालिका–१ जुँगुमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण छहरा झरना पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । सामाजिक सञ्जाल फेसबुक, टिकटक र रिल्समार्फत झरनाका फोटो तथा भिडियो व्यापक रूपमा सार्वजनिक हुन थालेपछि यहाँ पुग्ने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्न थालेको हो ।

घना जंगलको बीचमा रहेको अग्लो भीरबाट झर्ने मनमोहक छहरा झरना गाउँबाटै सहज रूपमा देख्न सकिन्छ । हरियाली वन, चट्टानी भीर र कलकल बग्ने झरनाको दृश्यले जो–कोहीलाई पनि लोभ्याउने गर्दछ । प्राकृतिक रूपमा सुन्दर यस झरनाले स्थानीय बासिन्दामा समेत नयाँ उत्साह थपेको छ । आफ्नो गाउँको प्राकृतिक सम्पदाले चिनारी पाउन थालेपछि स्थानीयहरू पनि यसको संरक्षण र प्रवद्र्धनमा सक्रिय हुन थालेका छन् ।

गत जेठ महिनामा छहरा झरनासम्म पुग्ने पदमार्ग निर्माण सम्पन्न भएपछि यहाँ पुग्न थप सहज भएको छ । यसअघि झरनासम्म पुग्ने व्यवस्थित बाटो नहुँदा र यसको पर्याप्त प्रचार–प्रसार नभएकाले झरना हेर्न जाने पर्यटकको संख्या लगभग शून्यजस्तै रहेको स्थानीय शिक्षक उत्तमराज खड्काले बताउनुभयो ।

उहाँका अनुसार अहिले झरनासम्म पुग्ने बाटो सहज बनाइएको छ । झरना नजिकै रहेको छहरा कालिका महादेव मन्दिर पनि व्यवस्थित निर्माण गरिएकाले धार्मिक तथा प्राकृतिक पर्यटन दुवैको आकर्षण बढेको छ । यसले यहाँ आउने पर्यटकको संख्यामा निरन्तर वृद्धि भइरहेको उहाँको भनाइ छ ।

स्थानीय होटल व्यवसायी मञ्जु पौडेल खत्रीका अनुसार यसअघि छहरा कालिका मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनबाहेक अन्य पर्यटक खासै आउने गर्दैनथे । विशेषगरी एकादशी र महाशिवरात्रिका अवसरमा मात्रै यहाँ मेला लाग्ने र मन्दिर दर्शनकै लागि मानिस आउने चलन थियो । तर अहिले झरनाको चर्चा बढेसँगै दैनिक सातदेखि आठ जनासम्म पर्यटक पुग्न थालेका छन् । सार्वजनिक बिदाका दिन विद्यार्थी तथा स्थानीय बासिन्दासमेत घुम्न जाने क्रम बढेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार पर्यटकीय गन्तव्य विकासका लागि प्राकृतिक सौन्दर्य मात्र पर्याप्त हुँदैन, सहज पहुँच पनि आवश्यक हुन्छ । पदमार्ग निर्माणपछि यहाँ पुग्न सजिलो भएकाले पर्यटकको आकर्षण बढेको हो । सिद्धनाथ हुँदै फेदी, यबो, काफ्लेगोलाई र झगडे भएर छहरा झरनासम्म पुग्न सकिन्छ । झगडेमा खाना तथा खाजाका लागि होटलको व्यवस्था भएकाले पर्यटकलाई थप सुविधा भएको शिक्षक खड्काले बताउनुभयो ।

उहाँका अनुसार छहरा झरना अत्यन्त मनमोहक र आकर्षक भएकाले आगामी दिनमा अझ धेरै पर्यटक भित्रिने सम्भावना छ । भर्खरै मात्र यसको प्रचार–प्रसार सुरु भएकाले सामाजिक सञ्जालमार्फत झन् धेरै मानिससम्म पुग्ने विश्वास गरिएको छ । जिरी भ्रमणमा जाने पर्यटकका लागि पनि यो झरना सहज पहुँचमा पर्ने भएकाले यसलाई दोलखाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ ।
केही तस्बिरहरुः उत्तमराज खड्काको फेसबुक वालबाट