गौरीशंकर गाउँपालिका–३ झ्याँकु सर्सेपूका आगलागी पीडित निरबहादुर खड्कालाई तत्काल राहतस्वरूप विभिन्न दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरिएको छ ।

गत साउन १६ गते विद्युत् सर्ट भई लागेको आगलागीबाट निरबहादुर खड्काको घर पूर्ण रूपमा क्षति भएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार राहत सामग्री उपलब्ध गराइएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म, हेडक्वार्टर दोलखामा रहेको डिजास्टर रिलिफ सिष्टम कन्टेनरमा रहेका सामग्रीहरू खड्कालाई बुझाइएको हो ।
पीडित परिवारलाई ५ थान स्टेनलेस स्टिल प्लेट, ५ थान, स्टेनलेस स्टिल बाउल ५ थान, स्टेनलेस स्टिल गिलास ५ थान, स्टेनलेस स्टिल चम्चा ५ सेट, वास बाल्टी (मगसहित) २ थान, १ लिटरका पानीका बोतल २ सेट, क्याम्प कट ३ थान, अस्पतालको बेडसिट ३ थान, पुनः प्रयोग गर्न मिल्ने बेड पिलो ३ थान, पुनः प्रयोग गर्न मिल्ने बेड पिलोको खोल ३ थान, बाथ टावल २ थान, ट्राभल ब्ल्याङ्केट तथा ३ सेट र पोर्टेबल ह्याङ्गिङ लाइट २ सेट प्रदान प्रदान गरिएको वडा नं. ३ का वडाअध्यक्ष युग बहादुर बस्नेतले बताउनुुभयो ।
राहत सामग्री नेपाल नं. १८ गुल्म हेडक्वार्टर दोलखाका सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीले निरबहादुर खड्कालाई सामग्री हस्तान्तरण गरेका थिए । पीडित खड्काले राहत सामग्री बुझ्दै विपद्को कठिन अवस्थामा प्राप्त सहयोगले दैनिक जीवनयापनमा ठूलो राहत पुगेको बताएका छन् ।
