चरिकोट, १२ कातिक
गौरीशंकर हिमालको छेउबाट घामको किरण चिया बगानमा टक्क अडेको छ । हातमा एउटा सेतो प्लाष्टिक झुण्डाउदै चियाको मुना टप्पटप्प टिप्दै हाल्दै गर्नुहुन्छ कर्म शेर्पा । बिहान बेलुकीको दैनिकीनै बनेको छ कर्मको । वरिपरी बारीमा कोदो झपक्कै ढाकेको छ । तर चिया बगानले ती सबै कोदोबारी ओझेलमा पारे जस्तो लाग्छ । सबैको आँखा झट्ट त्यही चिया बगानमा पुग्छ ।
गौरीशंकर गाउँपालिका झ्याँकु गोर्पाङमा चिया खेती सुरु गरेको ११ वर्ष पुगिसक्यो । एक सय ४५ रोपनीमा सुरु गरेको चिया खेती गोर्पाङको सुन्दरतानै फेरिएको छ । जोकोहीलाई सोध्दा पनि चिया बगान कहाँ पर्छ भन्ने प्रष्ट भईसक्यो । अध्ययनले समाजशास्त्री हुन विरमान शेर्पा । पत्रकारिता, राजनीति, सामाजिक कार्यमा समेत सक्रिय देखिन्छ । तर, पढेकाले खेती गर्नु हुँदैन भन्ने परम्परागत मान्यतालाई चिर्दै चिया खेती गरेको वर्षौ भईसक्यो । तिनै विरमानले आज हातमा कुटो कोदालो बोकेर चिया गोर्दा सबै अनौठो मान्छन् । कतिलाई विश्वास नलाग्न सक्छ, पढेका मान्छेले पनि यसरी खेती गर्छन र ? चिया बगानमा पुग्दा विरमानलाई कहिले पढेलेखेका व्यक्ति हुन् जस्ता देख्दैनन् । किन कि हामपाईन्ट, चप्पल लगाएर चियाको गोडमेलमा लागी पर्छन । उनलाई न कसैको लाज छ, न सर्किफिकेटको दम्बनै । एक गाउँ एक उत्पादन, उनको सिद्धान्त छ । व्यवसायी बन्नु पर्छ भन्ने उनको धारणा छ । पढेर मात्र होइन, केही गरेर बाँच्नु पर्छ भन्ने धारणा उनको यसै पेशाबाट प्रष्ट हुन्छ । उनी महिनामा एक पटक आफ्ना चिया बगानमा धाउने गर्छन काठमाडौबाट । गाउँमा आफ्नै आफन्तजनले स्याहार गर्ने गर्छन अरुबेला । काठमाडौबाट घर आउदा चिया बगानको लागि आवश्यक औषधिमूलो लिएर आउने गर्छन ।
अरुले मकै, गहुँ, कोदोको खेती गरेका छन् भने विरमान शेर्पाको बारीमा झ्यापक्कै चिया बगान । खानको लागि दिनरात खेतीमा समय दिए तापनि सेल्फी खिच्न र घुम्न चाहि विरमान शेर्पाकै चिया बगानमा आईपुग्छन् । बिहान बेलुकी घामको टकले अझ सुन्दरता थपिदिन्छन चिया बगानको । नजिकै गौरीशंकर हिमालले त झन सुनमा सुगन्धनै ।
सुरुमा रहरले रोपेका चिया अहिले पेशा बनेको छ । विभिन्न नामाङ्कन दिएका छन् चियाको । गोल्डेन, एसटिएस हवाइट गोल्ड टि, एसटिएस ग्रीन गोल्ड टि लगायत । हिमालयन एसटि शेर्पा ग्रीन टि स्टेट नामको कम्पनी दर्ता गरेका छन् । उनी अध्यक्ष हुन ।
कफिको सौखिन बढिरहेको बेला चियाको चुस्की नलिने सायद कमै होलान । सबैलाई स्वास्थ्यले कफि उपयुक्त हुँदैन । कफि र चियाको आआफ्नै महत्व छ । तर, चिया जुुनसुकै तरिकाले पिउन सकिन्छ । ग्रीन टि, मिल्क टि, लेमन्ट टि, ब्ल्याक टि आआफ्नो रुची अनुसार चिया पिउन सकिन्छ । मान्छेको स्वभाव र रुचि पनि फरक फरक छन् । कतिपयलाई खाली पेटमा कालो चिया पिउनु पर्छ । उच्चरक्त चाप भएकालाई ग्रीन टि पिउदा स्वस्थकर हुन्छ ।
उनले उत्पादन गरेको चियाको माग बढ्न थालेको छ । देशमा मात्र होइन, विदेशी बजारमा समेत माग धान्दै आएको छ । जापान लगायत देशमा उनको चियाको राम्रो माग छ । अरु चियाभन्दा फरक स्वाद भएकाले पनि जत्ति भन्यो त्यत्तिनै मूल्यमा बिक्री गर्न सक्ने उनको भनाई छ । गाउँमा समेत उनको चियाको राम्रै चर्चा छ । गाउँका सानातिना होटलहरुमा समेत चिया खोज्ने गर्छन । सबैलाई उनको चियाको स्वाद चखाउने धोको पनि छ । मागेर होइन किनेर खानु पर्छ भन्छन् । उनको चियाको आफ्नै ब्राण्ड बनाएको छ ।