चरिकोट, ६ माघ
कोभिड १९ को नयाँ भेयिन्टको असर दोलखामा जिल्लामा पनि पर्न थालेको छ । संक्रममितको संख्या बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । जिल्लाका दुई गाउँपालिकाले आकस्मिक बाहेको सेवा प्रवाह हालका लागि स्थगित गरेका छन् । गाउँपालिकाकै कर्मचारीलाई कोरोना संक्रमण भए पछि जिल्लाको तामाकोशी र शैलु गाउँपालिकाले आकस्मिक बाहेकको सेवा प्रवाह बन्द गरेका छन् । हाल जिल्लामा कोभिड १९ का संक्रिय संक्रमितको संख्या एक सय ११ पुगेको छ ।
भीड बढ्न नदिन भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले आइतबारदेखि नागरिकता र राहदानी लगायतका सेवाहरु बारअनुसार दिने भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै जोखिम कम गर्न प्रशासनले नागरिकता र राहदानी लगायतका सेवाहरु बार अनुसार प्रवाह गर्ने निर्णय गरेकोे हो ।
निर्णय अनुसार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, विगु गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका गौरीशंकर गाउँपालिकाका सेवाग्राहीहरुलाई आइतबार, मंगलबार र विहिबार सेवा प्रवाह गरिने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
त्यसैगरी भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका कालिञ्चोक गाउँपालिकाका वडाहरुमा सोमबार, बुधबार र शुक्रबार सेवा प्रवाह गरिने जनाएको छ ।
शैलुङ र तामाकोशी गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द
कर्मचारीलाई कोरोना संक्रमण देखिए पछि दोलखाको शैलुङ गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै पालिकाले भोलीदेखि १३ गतेसम्मलाई अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने गाउँपालिकाका अध्यक्ष भरत प्रसाद दुलालले जानकारी दिनुभयो ।
शैलुङ गाउँपालिकाका दर्जन बढि कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएका छन् । पालिकामा हाल १७ जना पुरुष र २ जना महिला गरि १९ जना कोरोनाको सक्रिय संक्रमित रहेको अध्यक्ष दुलालले जानकारी दिनुभयो ।
ओमीक्रोन भाइरस लगायत अन्य मौसमी रुघाखोकी समेत समुदायमा फैलिरहेका हुँदा सबै नागरिकलाई स्वास्थ्य मापदण्डको पालना गरि सुरक्षित रहन स्थानीय सरकारले सबैमा अनुरोध गरेको छ । यसै गरी दोलखाको तामाकोशी गाउँपालिकाले पनि अत्यवश्यक बाहेकको सेवा प्रवाह बन्ल गरेको छ । पालिकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भए पछि आगामी माघ १२ गते सम्मका लागि अत्यावश्यक बाहेको सेवा प्रवाह स्थागित गरिएको गाउँपालिका अध्यक्ष इश्वरच्द्र पोखरेलले जानकारी दिनु भयो ।