दोलखाको कालिञ्चोक गाउँपालिका–१ स्थित क्याम्पोल । हिमालको हावा, हरियाली डाँडा र छहराजस्तै पसिना बगाउने मानिसहरूको बस्ती । केही वर्षअघिसम्म यो गाउँ परम्परागत खेतीमा निर्भर थियो । यस गाउँमा आलु, कोदो, फापर, गहुँ, मकै खेती नै यहाँको दैनिकी र आम्दानीको मुख्य आधार थियो । गाउँका युवाहरू शहर वा विदेश गएर मात्रै भविष्य र आयको सम्भावना देख्थे । तर अहिले क्याम्पोलको परिचय नै फेरिएको छ । जंगलको बीचमा किवीका हरियाली बोटहरू देख्न थालेपछि गाउँलेहरूको सोच पनि उम्रियो, गाउँमा बसेरै उत्पादन र उद्यम गर्न सकिन्छ भन्ने विश्वास ।

चार वर्षअघि केही अग्रज व्यक्तिहरूले क्याम्पोलमा किवी खेती सुरु गर्ने निर्णय गरे । भित्रीखर्क क्षेत्र किवी उत्पादनका लागि उपयुक्त छ भन्ने प्राविधिक सुझाव पाएपछि उनीहरूले जोखिम भए पनि मौका छाने । २ सय रोपनी जग्गामा सामूहिक रूपमा २२ सय वटा किवीका बोट रोपिए । सुरुको केही वर्ष बिरुवा हुर्काउने, मलजल लगाउने, सिँचाइ मिलाउने र रोग–कीरासँग जुध्ने चुनौती थियो । तर ६५ घरधुरीका किसानहरूको साहस र श्रमले बिस्तारै किवीबगान हरियाली र सम्भावनाले भरिन थाल्यो ।
किवीको बोट बढ्दै गएपछि क्याम्पोलमा नामसालिङ सामुदायिक विकास केन्द्रको पहलमा दिपजंग साना किसान कृषि सहकारी संस्था लिमिटेड स्थापना गरियो । अध्यक्ष कर्णबहादुर थामीका अनुसार सहकारीले किसानलाई एक ठाउँमा मात्रै बाँधेन, उनीहरूलाई उद्यमशील सोच, बजारसँगको पहुँच र दीर्घकालीन योजनासहित कृषि व्यवसायमा जोडियो । सहकारी स्थापनासँगै क्याम्पोल पराम्पगत खेती गर्ने र जीविकोपार्जन गर्ने गाउँ मात्र रहेन, काम गर्न र कमाउन चाहनेहरूको लागि अवसरको केन्द्र बन्दै गयो ।
किवी फल्न थालेपछि क्याम्पोलका केही व्यक्तिहरूले नयाँ सपना देखे, किवी बेचेर मात्रै होइन, प्रशोधन गरेर आफ्नै ब्रान्ड बनाउनुपर्छ । यही विचारका साथ १० जना स्थानीय उद्यमीले पूँजी संकलन गरे । प्रत्येकले ५०–५० हजार रूपैयाँ योगदान दिएर २ लाख ५० हजार जम्मा भयो । तर प्रशोधन केन्द्र सञ्चालन गर्न उपकरण, तालिम र पूर्वाधारमा ठूलो खर्च लाग्ने भएकाले उनीहरूले साझेदारी खोजे । लगानी माग्दा धेरैजसो संस्थाले गाउँको योजना सम्झेर केहीले मन, वचन दिए त केहीले हातसमेत बढाए ।
कालिञ्चोक अर्गानिक किवी प्रशोधन केन्द्रका सञ्चालक पूर्ण थामीका अनुसार कुलालोन, नेदरल्याण्डबाट ७ लाख ५२ हजार, नामसालिङ सामुदायिक विकास केन्द्रबाट ३ लाख २० हजार, कालिञ्चोक गाउँपालिका–१ वडा कार्यालयबाट ५० हजार र ग्रामीण विकास टुकी संघबाट १ लाख २५ हजार सहयोग प्राप्त भयो । सबै रकम जोडिँदा १४ लाख ९७ हजार जुट्यो । यही रकमले ‘कालिञ्चोक अर्गानिक किवी प्रशोधन केन्द्र’ को सपना पूरा गरायो । मेशिन किन्ने, तालिम गर्ने र कच्चा पदार्थ संकलन र व्यवस्थापन गर्ने कार्यमा खर्च भयो । गाउँमै पहिलोपटक किवी प्रशोधित तथा जाम, क्याण्डी र चाना उत्पादन गर्न थाले ।
नामसालिङ सामुदायिक विकास केन्द्रले क्याम्पोलमै चिस्यान केन्द्र स्थापना ग¥यो, जसको भण्डारण क्षमता १५ हजार टन छ । किसानले बोटबाट टिपेका किवी अहिले यही चिस्यान केन्द्रमा राख्छन्, जसले उत्पादन बिग्रने समस्या हटाएको छ र किसानलाई बजार अनुकूल समयमा बिक्री गर्ने अवसर दिएको छ । गाउँभरिका किसानले उत्पादन गरेका किवी पनि यही चिस्यान केन्द्रमा राख्न सकिन्छ । यस वर्ष गाउँमा ७ हजार केजी किवी उत्पादन भएको छ । यस वर्ष २ हजार केजी काठमाडौमा निर्यात गरियो । क्याम्पोलका किसानहरू आफ्नो उत्पादन राजधानीसम्म पुगेको देख्दा गर्व महसुस गर्छन् । “पहिले त गोजीमा पैसा राखेर बजार जान्थ्यौँ, अब उत्पादन बोकेर बजार जान्छौँ,” एक किसान भने जस्तै, सोच र स्वाभिमान दुवै बढ्दै गएको छ ।
नयाँ मेसिन आएपछि मंसिरको पहिलो साताबाट किवी प्रशोधन औपचारिक रूपमा सुरु भयो । केही महिनामै ५०० बोटल किवी जाम, २०० प्याकेट (७५ ग्राम) किवी क्याण्डी र २०० प्याकेट (७५ ग्राम) किवी चाना उत्पादन भइसकेका छन् । यी उत्पादन खाद्य तथा गुणस्तर विभागमा परीक्षणका लागि पठाइसकिएको कृषि प्राविधिक अस्मिता बस्नेत बताउँछिन् । गुणस्तर परीक्षण पूरा भएपछि उत्पादन बजारमा सहजै उपलब्ध हुनेछ । यसले गाउँमा ‘कालिञ्चोक अर्गानिक’ ब्रान्डलाई स्थापित गराउने विश्वास किसानहरूले लिएका छन् ।
प्रशोधित उत्पादनको बजारसँगै क्याम्पोलका किसानले ठूलो योजना बनाएका छन् । सिंगटी, कुरी, चरिकोट र काठमाडौं मुख्य लक्ष्य बजार छन् । “गाउँमा जो–कसैले किवी फलाएर ल्याए पनि हामी किन्छौँ,” नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाका परियोजना संयोजक राजन केसी भन्छन् । यसले किसानलाई बजार खोज्न हिँडिरहनुपर्ने झन्झट हटाएको छ । क्याम्पोलमा अब किवी खेती केवल व्यक्तिगत आम्दानी होइन, सामूहिक भविष्यको आधार बनेको छ । किवीका बोटसँगै गाउँको सोच पनि फस्टिएको छ । गाउँमै बसेर काम गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । युवा विदेशिनुपर्ने विकल्प कम हुँदै गएको छ । महिलाहरू सहकारीमा आबद्ध भएर निर्णय प्रक्रियामा अग्रसर छन् । गाउँमा उत्पन्न भएको आयले शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पारेको छ । किवी बगानका हरियाली रूखहरू हेर्न आउने पर्यटक पनि बढ्न थालेका छन्, जसले भविष्यमा कृषि पर्यटनको सम्भावना देखाएको छ ।
क्याम्पोलको अनुभवले एउटा कुरा स्पष्ट बनाएको छ, संसाधन मात्रै सबैथोक होइन, सोच, एकता र लगन आवश्यक छ । ६५ घरधुरीको सामूहिक श्रम, स्थानीय नेतृत्वको सक्रियता र संस्थागत तथा बाह्य साझेदारीको साथले क्याम्पोलले छोटो अवधिमा ठूलो उपलब्धि हासिल गरेको छ । गाउँलेहरूको मेहनतले आज क्याम्पोललाई दोलखाका अन्य बस्तीहरूका लागि प्रेरणाको स्रोत बनाएको छ ।
आगामी वर्षहरूमा क्याम्पोलले किवी खेती थप विस्तार गर्ने, नयाँ प्रजातिमा परीक्षण गर्ने, ‘किवी ट्रेल’ नामक कृषि–पर्यटन मार्ग विकास गर्ने र ‘कालिञ्चोक अर्गानिक’ ब्रान्डलाई राष्ट्रिय स्तरमा पु¥याउने योजना बनाएको छ । किसानहरू भन्छन्, “किवीको बोटसँगै हाम्रो सपना पनि उम्रिरहेको छ ।”
आज क्याम्पोल केवल किवी उत्पादनको बस्ती होइन, उद्यमशीलताको पहाड हो, जहाँ हरेक बोटमा भविष्य झुण्डिएको छ, हरेक किसानको आँखामा आत्मविश्वास चम्किएको छ । गाउँलेहरूले देखाएको साहस र मेहनतले यही भन्छ, गाउँमै बसेर काम गर्न सकिन्छ, उत्पादन गर्न सकिन्छ, र उद्यमी बन्न सकिन्छ ।
क्याम्पोलको किवी खेती, प्रशोधन र बजार विस्तारको यात्रा यही देखाउँछ, सपना बोटमा मात्रै होइन, मनमानी उम्रिन्छ ।