जिरी नगरपालिका–५ स्थित चीज उत्पादन केन्द्रका कर्मचारीको पाँच महिना दाउरा संकलनमै बित्ने गरेको छ । चीज उत्पादन अफसिजनमा वन जंगलबाट दाउरा संकलन गर्नुपर्ने बाध्यता उनीहरूलाई छ ।

हिउँद सुरु भएसँगै चौरीको दूध संकलन बन्द भएपछि यस केन्द्रमा कार्यरत कर्मचारीहरू जंगलमा दाउरा संकलनमा जुट्ने गरेका छन् । मंसिरदेखि चौरीको दूध आउन छाडेपछि कर्मचारीहरू दाउरा संकलनमै लाग्ने गरेको जिरी चीज उत्पादन तथा बिक्री वितरण आयोजना, चीज उत्पादन केन्द्रका प्रमुख मकरबहादुर जिरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंसिरदेखि चैतसम्म चौरीपालक कृषकले दूध ल्याउन छाड्छन् । चौरी ब्याउने सिजन माघदेखि असारसम्म रहने भएकाले हालको समय अफसिजन हो । यही अफसिजनमा दैनिक २–३ भारी दाउरा संकलन गरिन्छ । दाउरा ल्याउन कर्मचारीहरूलाई जंगलमा पुुगेर फर्किन करिब २–३ घण्टा पैदल यात्रा गर्नुपर्छ ।
हाल केन्द्रमा ६ जना कर्मचारी कार्यरत छन् । गौरीशंकर गाउँपालिका–४ झ्याँकु फेदीमा रहेको शाखाका लागि पनि यही केन्द्रका कर्मचारीबाट दाउरा संकलन गर्नुपर्ने भएकाले कामको चाप अझ बढेको छ । पाँच महिना दाउरा संकलन गरेपछि बाँकी सात महिनाका लागि ढुक्क हुने गरेको केन्द्र प्रमुख जिरेलले बताउनुभयो ।
२०२८ सालमा स्थापना भएको यस चीज उत्पादन केन्द्रमा हालसम्म विद्युत् ब्याकअप वा जेनेरेटरको व्यवस्था हुन सकेको छैन । त्यसैले उत्पादन प्रक्रियामा दाउरा नै प्रयोग गर्दै आएको उहाँको भनाइ छ ।
सिजनमा दैनिक दुई सय लिटरभन्दा बढी चौरीको दूध संकलन हुने गर्दछ । वार्षिक रूपमा करिब चार हजार किलो चीज उत्पादन गरी काठमाडौंको लाइनचौरसम्म निर्यात हुँदै आएको छ । चीजसँगै सीमित मात्रामा मखन पनि उत्पादन गरिँदै आएको केन्द्रले जनाएको छ ।
तर पछिल्ला वर्षहरूमा चौरीपालक कृषकको संख्या घट्दै जाँदा सोचेजस्तो चीज उत्पादन हुन नसकेको कर्मचारीहरू स्वीकार्छन् । करिब १० वर्षयता चौरीपालन गर्ने कृषकको कमी आएको केन्द्रमा कार्यरत कर्मचारी रिन्जी शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार बेला–बेला चौरीमा लम्कीस्किनजस्ता रोग देखिनु, युवापुस्तामा चौरीपालनप्रति चासो घट्नु जस्ता कारणले यो पेशा संकटमा पर्दै गएको छ । हाल काप्ती, क्याङसेपोखरी, चेर्दुङ, ठूलोनागी लगायतका सीमित खर्कहरूमा मात्र चौरीपालन हुँदै आएको छ ।
चौरीपालन अत्यन्तै दुःखसाध्य काम भएकाले अहिलेको युवा पुस्ताले यस पेशाप्रति मन मारेको चौरीपालक कृषक साङबु शेर्पाले बताउनुभयो । “बुबा–आमाले गरेजस्तो दुःख गर्न अबको पुस्ता तयार छैन,” उहाँले भन्नुभयो, “त्यसैले चौरीको संख्या दिनप्रतिदिन घट्दै गएको छ ।” पहिला पहिला सयौ वटा चौरी पाल्ने गरेको र अहिले २५ वटामा सिमित रहेको साङबु शेर्पाले बताउनुुभयो ।
सम्बन्धित निकायले समयमै ध्यान नदिए चौरीपालन पेशा लोप हुने खतरा रहेको उहाँहरूको चिन्ता छ ।