गुजर्पा गाउँ, कालिञ्चोक गाउँपालिका–६ ।
यो गाउँको दैनिकी बोकेको एउटा नाम हो— मीठू (नरमाया) खत्री । उमेरले ५५ वर्ष पुगिसक्दा पनि उनको काम गर्ने जाँगर र ऊर्जा भर्खरका युवाभन्दा कम छैन । बिहान उज्यालो हुन नपाउँदै उनी उठिसकेकी हुन्छिन् । घरको खाना तयार पार्नेदेखि कुखुरा, बाख्रा सार्ने, भेडालाई घाँस–पानी खुवाउने काम उनी स्वयं सम्हाल्छिन् । कहिलेकाहीँ समूहको बैठक, मेलापात वा सामाजिक कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउँछिन् । उनका लागि काम बोझ होइन, जीवन चलाउने आधार हो ।

भेडा पालनबाट आत्मनिर्भर जीवन
करिब २० वर्षदेखि भेडा पालन गर्दै आएकी मीठू खत्रीको गोठमा अहिले पनि १९ वटा भेडा छन् । साथै ८ वटा भैँसी, कुखुरा र बाख्रा पनि प्रशस्तै छन् । यही पशुपालन नै उनको मुख्य आयस्रोत हो ।
घरमा उनी र श्रीमान् मात्र बस्छन् । श्रीमान् कहिलेकाहीँ ज्यामी कामका लागि गाउँघर पुग्छन् भने अधिकांश समय मीठू खत्री एक्लैले घर–गोठ सम्हाल्छिन् । उनका एक छोरा काठमाडौं र अर्को जापानमा छन् । तीन छोरी विवाह भएर पराइघर गइसकेका छन् ।
वर्षमा पाँच–छ वटा भेडा बिक्री गर्छिन् । एउटा भेडाको मूल्य १८ हजार रुपैयाँभन्दा बढी पर्छ । भेडासँगै ऊन पनि बिक्री हुन्छ । नजिकै डेरी नभएकाले भैँसीको दूध बिक्री हुँदैन । घिउ बनाएर बेच्ने गरेकी छन् । सबैभन्दा गर्वको कुरा— जापानमा रहेको छोरालाई वैदेशिक रोजगारमा पठाउँदा उनले कतै ऋण लिनु परेन । आफ्नै मेहनतको कमाइले छोराको सपना उडान भरेको हो ।
महिला उद्यमशीलताको अगुवा

मीठू खत्री नमज्योति महिला समूहकी अध्यक्ष हुन् । घर नजिकै रहेको महादेवथान लघु उद्यमी समूहको नेतृत्व पनि उनैले गरेकी छन् । यस लघु उद्यमी समूहकी पनि अध्यक्ष हुन् । सुरुमा २५ जनाले सञ्चालनमा ल्याएको यो लघुउद्योग अहिले ९ जनामा सीमित छ । तीमध्ये पनि सबै सक्रिय छैनन् । लघुउद्योगलाई जोगाइराख्ने जिम्मा केही सदस्यसँगै मीठू खत्रीको काँधमा छ । यस उद्योगमा अल्लोको झोला र कपडा उत्पादन हुन्छ । एउटा झोलाको मूल्य ४ सयदेखि १ हजार २ सय रुपैयाँसम्म पर्छ । वर्षमा करिब २० हजार रुपैयाँ बराबरको झोला बिक्री हुन्छ । अल्लोको झोला र कपडाको माग बढ्दो छ । ल्यापटप बोक्ने झोलादेखि आकर्षक डिजाइनका कपडासम्म यहाँ तयार हुन्छन् । अहिलेसम्म दुई लाख रुपैयाँभन्दा बढीको अल्लो कपडा बिक्री भइसकेको छ । तर समस्या पनि छन् । काम गर्ने जनशक्तिको अभावका कारण मागअनुसार उत्पादन गर्न नसकेको उनी बताउँछिन् । कति पटक माग धन्न नसकेको उनको अनुुभव छ ।
स्थानीय सरकारको सहयोग
लघुउद्योगमा चार वटा कपडा बुन्ने मेसिन छन् । आफ्नै भवनमा उद्योग सञ्चालन भइरहेको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ६ ले उनीहरूको मेहनत र कामको मूल्यांकन गर्दै ६ लाख रुपैयाँभन्दा बढी अनुदान दिएको वडाध्यक्ष भरत पाण्डे बताउनुहुन्छ । उद्यमीको मागअनुसार तालिमको व्यवस्था पनि गरिएको छ । “राम्रो काम गर्न चाहनेलाई अझै सहयोग गर्न तयार छौं,” वडाध्यक्ष पाण्डेको प्रतिबद्धता छ ।
सीप भए गाउँमै सम्भावना
मीठू खत्री गाउँको यथार्थ देख्छिन् । “गाउँमा युवाहरू छैनन् । भएका युवामा पनि सीपको अभाव छ । यदि युवालाई सीप दिन सकियो भने गाउँमै केही गर्न सकिन्छ,” उनी दृढ विश्वासका साथ भन्छिन् ।
प्रेरणाको नामः मीठू खत्री
मीठू खत्री केवल एक किसान वा उद्यमी मात्र होइनन्, उनी आत्मनिर्भर गाउँको सम्भावनाको प्रतीक हुन् । उनको कथा बताउँछ— मेहनत, सीप र आत्मविश्वास भए गाउँमै बसेर पनि जीवन उकास्न सकिन्छ । गर्नेलाई गाउँमै सम्भव छ । भविश्य छ ।